धरहरा भत्किँदा ज्यान गुमाउनेका परिवारलाई रोजगारी, दिपावली मनाउन प्रधानमन्त्रीको सुझाव


काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा ज्यान गुमाउने परिवारका एक जनालाई रोजगारी दिने पनि बताएका छन्।

शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहरामा ज्यान गुमाउने परिवारका एक जना सदस्यलाई यही धरहरामा रोजगारीको व्यवस्था मिलाइने बताएका हुन् । ‘धरहरा ढल्दा बाँचेकालाई सम्मान गर्छौं, ज्यान गुमाउने परिवारका कुनै एक सदस्यलाई रोजगारीको ग्यारेन्टी गर्छौं’, प्रधानमन्त्री ओलीले भने,‘यहाँ कामको प्रकृति नमिल्ने सदस्यलाई अर्कै ठाउँमा भए पनि व्यवस्था गर्छौं।

सम्बाधनकै क्रममा प्रधानमन्त्री ओलीले भूकम्पले भत्काएको धरहरा पुनर्निर्माण भएर बलियो भएको भन्दै यो खुसी र हर्सोल्लासको समय भएकाले जनताहरूलाई दिपावली गरेर खुसी साट्न सुझाव दिएका छन् । सुरक्षित र सबल सामग्रीहरुको प्रयोग गरी पुनःनिर्माण गरिएको धरहरा अब कहिल्यै नढल्ने ठोकुवा गर्दै उनले नयाँ धरहरा निर्माणसँगै धरहरा भत्कँदा भएको सबै क्षतिको परिपूर्ति गर्ने बाटोमा सरकार लागेको पनि बताए ।

प्रधानमन्त्री ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ-आफ्नो ठाउँबाट प्रयास गर्नसमेत आह्वान गरेका छन्। अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौँ भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए । ओलीले भने, ‘देशभित्र र बाहिर रहेका थुप्रै नेपालीहरुको २४ रुपैयाँ यसमा सहयोग परेको छ । त्यसैले जनताका थुप्रै भावनाहरु यसमा मिसिएका छन् । यो हाम्रो भावनासँग जोडिएको छ, हाम्रो गौरवसँग जोडिएको छ ।’

पुनर्निर्मित धरहरा ८६.८५ मिटर अग्लो बनेको छ । पुनर्निर्मित धरहरा पहिलेको भन्दा करिब २५ मिटर अग्लो र मजबुत बनेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा भत्किँदा बाँच्न सफल भएकी बल्खु काठमाडौँकी रमिला श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौँ उपत्यका अवलोकन गर्ने क्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।

धरहरा क्षेत्रमा मात्रै ६० जनाको ज्यान गएको थियो । भूकम्पमा परी देशभर ८ हजार ९ सय बढीको ज्यान गएको थियो भने कयौं भौतिक संरचना नष्ट भएको थियो । प्रधानमन्त्री ओलीले पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई पनि उदघाटन कार्यक्रममा सम्मान गरेका छन् ।

प्रतिक्रिया