

एमालेमा बादलको बरियताक्रम चौथो !

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले नयाँ स्थायी कमिटी गठन गरेको छ । झलनाथ खनाल र माधव नेपाल पक्षका एक जना पनि नेतालाई समावेश नगरी ओलीले स्थायी कमिटी गठन गरेका हुन्।
स्थायी कमिटीमा वामदेव गौतमलाई भने समावेश गरिएको छ। बिहीबार राती म तपाईंको फुटपरस्त गलत काममा संलग्न छैन भनी बालुवाटारमा ओलीसँग डिनर गर्दागर्दै निस्किएका नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष गौतमलाई स्थायी कमिटीमा समावेश गरिएको हो।
आजको बैठकले एमाले स्थायी कमिटीको अध्यक्षमा पार्टी अध्यक्ष ओली र उपाध्यक्षमा महासचिव इश्वर पोखरेल रहने निर्णय गरेको छ। ओलीपछिको बरियतामा गौतम रहेका छन्, भने तेस्रो बरियतामा पार्टीमा महासचिव ईश्वर पोखरेल छन्।
त्यस्तै एमालेको नयाँ स्थायी समितिमा रामबहादुर थापा ‘बादल’लाई मर्यादाक्रमको चौथो नम्बर दिइएको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडी मन्त्री बन्न गएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापालाई पनि स्थायी कमिटीमा समेटिएको छ।
एमालेमा प्रभावशाली नेताका रुपमा चिनिएका विष्णु पौडेल, सुवास नेम्बाङ, शंकर पोखरेल बादलको बरियतापछि छन्। नेम्वाङ संसदीय दलका उपनेता समेत हुन् भने पौडेलले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव जस्तो पदमा रहेर साढे २ वर्ष काम गरे।
गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङ, केशव बडाल र योजना आयोगका उपाध्यक्ष तथा पार्टी लेखा विभाग प्रमुख रहेका डा. पुष्पराज कँडेललाई पहिलोपटक पार्टीमा माथि तानेर १९ सदस्यीय बनाइएको नयाँ स्थायी समितिमा १५ नेता एमाले पृष्ठभूमिका छन् भने माओवादीका ४ जना।
एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो।
हेर्नुहोस् स्थायी कमिटीमा को–को समेटिए?
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवाली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा

