अर्का ‘उदण्ड मेयर’


काठमाडौं– एक बर्षभित्र उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले आफ्नो परिचय उदण्डताका हिसाबले दिएको सर्वसाधारणले आरोप लगाएका छन्।

बर्षदिन अघि लक डाउनका समयमा नगर क्षेत्रभित्र सर्वसाधारणलाई हप्कीदप्की गर्नेदेखि सेवाग्राहीमाथि कुटपिटसम्मका घटनाले फागो विवादमा तानिएका हुन्।

कुनै बेला पत्रकारलाई नाक भत्काउनेदेखि नेतामाथि जाई लाग्ने गरेका कारण इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी विवादमा तानिएका थिए।

अहिले फागो चौधरी भन्दा पनि उदण्ड भएर प्रस्तुत हुन थालेको स्थानीयले बताउने गरेका छन्। उर्लाबारीका प्रविण बास्तोला मृत्यु प्रकरणमा उनकी बहिनीलगायत परिवारका सदस्यमाथि पनि फागो रिसाएर प्रतिक्रिया दिएको भिडिओ बाहिरिएको थियो।

न्याय माग्न जाँदा उल्टै पीडितलाई नै हप्की दप्की गर्ने फागो पछिल्लो पटक टहरा निर्माणको काम रोकिएको गुनासो लिएर पुगेका सेवाग्राहीमाथि आक्रमण गरेको भन्ने आरोपका कारण विवादमा छन्।

उर्लाबारी–५ का विष्णुप्रसाद भण्डारी र उर्लाबारी–८ का नारायण बस्नेतमाथि मेयर फागोको अगुवाइमा आक्रमण भएको आरोप लागेको थियो। पद र शक्तिको आडमा फागोले उल्टै दुई जनालाई अभद्र व्यवाहारको मुद्दा लगाएर भाग्न बाध्य पारेको पनि बताइन्छ।

एक सर्वसाधारण भन्छन्,‘जनताले निर्वाचित गरेको प्रतिनिधि भएर यति धेरै उदण्डता देखाउनु ठिक होइन, उनको पार्टीले पनि सम्झाउनुपर्ने भयो।’

फागो नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन्। ३० चैतमा दुई जना सेवाग्राहीमाथि फागोले हातपात गरेको आरोप लागेको थियो।

यस विषयमा नेकपा एमाले नगर कमिटीले निष्पक्ष छानबिन गर्नका लागि अपिल गरेको थियो। तर अहिलेसम्म हुन सकेको छैन। ‘मेयर हुन् त मनपरी गर्ने छुट कसले दिएको छ? सेवाग्राही पनि आफूइतरको हुन्छ र? माग सुन्नुपर्दैन? अभद्र व्यवाहार आफू गर्ने अनि, उल्टै मुद्दा लगाउने?’, स्थानीय भन्छन्।

त्यस प्रकरणका भण्डारी सम्पर्कमा नरहे पनि बस्नेतलाई मेयरले हिरासतमा पुराइसकेका छन्। भण्डारी भन्छन्,‘नगरपालिका जस्तो  ठाउँमा हामीले के को दुश्मनी देखाउनु, के त्यो  मान्य कुरा हुन्छ?  के गणतन्त्र ले यहि भन्छ? के लोकतन्त्र यसैको लागी बनाइएको हो?’

प्रतिक्रिया