
उपत्यकामा २४ घण्टाभित्र ७८७ सवारीचालक कारबाहीमा
काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित नियमित जाँचका क्रममा पछिल्लो २४ घण्टामा ७८७ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ७५ जना र रातो बत्तीको उल्लङ्घन गर्ने ८७ जना चालक कारबाहीमा परेका हुन्।
त्यस्तै, तीव्र गतिमा सवारी हाँक्ने ११७ जना, लेन अनुशासन पालना नगर्ने १२ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने १९ जना र एकतर्फी (वान-वे) सडकमा सवारी साधन चलाउने ४ जनालाई नियन्त्रणमा लिई कारबाही गरिएको छ।
यसैगरी, सवारी साधनको अवस्था ठिक नराखी चलाउने २४ जना र सीसीटीभी फुटेजका आधारमा ६५ जना चालकलाई नियन्त्रणमा लिइएको छ। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ३८८ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।



कागजपत्र |
