
गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु
रुकुम पश्चिम – रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ।
आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे-१ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली छन्।
प्रहरीका अनुसार स्वस्तिकाका श्रीमान् लक्ष्मी सनराइज बैंकको मुसिकोट शाखामा कार्यरत छन्। उनलाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला गाडीले ठक्कर दिएको हो। प्रहरीले दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको जनाएको छ।
ठक्कर दिने गाडी घटनास्थलमै रहेको छ भने चालक सानीभेरी गाउँपालिका–३, चौखे निवासी अमर विकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
