
महाधिवेशनमा प्रतिनिधि शुल्क नलिन र लिएको फिर्ता गर्न सभापति लामिछानेको निर्देशन
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनका क्रममा अस्वस्थ गतिविधि नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार चितवनमा महाधिवेशनको बन्दसत्रको उद्घाटन गर्दै सभापति लामिछानेले पार्टीको आन्तरिक निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भन्दै कुनै गुट, उपगुट तथा प्यानल बनाएर प्रतिस्पर्धामा नउत्रन निर्देशन दिएका हुन् ।
पार्टीभित्र गुट, उपगुट हाबी भए त्यसबाट आउने परिणाम पनि त्यस्तै हुने उनले बताए । पार्टीले कसैलाई पनि उम्मेदवारी दिनबाट वञ्चित नगरेको उल्लेख गर्दै सभापति लामिछानेले पार्टीको केन्द्रीय समितिमा पुग्ने नेतृत्व छनोट गर्दा विवेक प्रयोग गर्न समेत आग्रह गरे ।
महाधिवेशन अगावै पार्टीले झन्डै दुई तिहाइको सरकार प्राप्त गरेको भन्दै सभापति लामिछानेले अव महिमागान गाएर नभई परिणाममा जोड दिनुपर्ने बताए ।
साथै उनले प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधिहरूबाट लिइँदै आएको प्रतिनिधि शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिए । शुल्क बुझाइसकेका प्रतिनिधिहरूमध्ये आर्थिक समस्या भएकाले आवश्यक प्रक्रिया पूरा गरी उक्त रकम फिर्ता लिन सक्ने व्यवस्था गरिएको उनले बताए ।
यसैबीच रास्वपाको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुने भएको छ । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदानमा विद्युतीय उपकरण उपयोग हुनेछ ।
महाधिवेशनमा प्रत्यक्ष सहभागी नभएका प्रवासका प्रतिनिधिका लागि रास्वपाको आफ्नै ‘एप’बाट मतदान गर्ने व्यवस्था गरिँदै छ । एक सभापति र ९९ जना केन्द्रीय सदस्य चयन गर्न मतदान हुने जानकारी निर्वाचन प्रमुख केसीले दिए ।



कागजपत्र |
