
विश्वकपमा चम्किए केप भर्डेका गोलकिपर भोजिन्हा, केही घण्टामै सामाजिक सञ्जालमा सुपरस्टार
काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका केप भर्डेका अनुभवी गोलकिपर जोसिमार डियास ‘भोजिन्हा’ विश्वभर चर्चाको केन्द्र बनेका छन्। उनको शानदार गोलकिपिङकै कारण केप भर्डेले आफ्नो पहिलो विश्वकप खेलमा स्पेनसँग गोलविहीन बराबरी खेल्दै ऐतिहासिक अंक बटुलेको हो।
४० वर्षीय भोजिन्हाले स्पेनका लगातार आक्रमणलाई विफल पार्दै टोलीलाई हारबाट जोगाए। खेलभर स्पेनले २७ पटक प्रहार गरेको थियो, जसमध्ये ७ वटा प्रहार गोलपोस्टभित्र थिए। तर भोजिन्हाले सबै प्रयासलाई रोकेर क्लिनसिट कायम राख्न सफल भए।
उनको प्रदर्शनपछि सामाजिक सञ्जालमा पनि लोकप्रियता ह्वात्तै बढेको छ। खेलअघि करिब ४५ हजार इन्स्टाग्राम फलोअर्स रहेका भोजिन्हाको फलोअर्स संख्या केही घण्टामै लाखौँले बढ्यो। समाचार तयार पार्दासम्म उनको इन्स्टाग्राम फलोअर्स संख्या ५.१ मिलियन पुगेको छ र बढ्ने क्रम जारी छ।
ऐतिहासिक खेलमा उत्कृष्ट प्रदर्शन गरेबापत भोजिन्हा ‘म्यान अफ द म्याच’ घोषित भए। साथै, उनी विश्वकप इतिहासमा क्लिनसिट राख्ने सबैभन्दा पाका गोलकिपरमध्ये एक बनेका छन्।
भोजिन्हाको उत्कृष्ट प्रदर्शनले केप भर्डेलाई विश्वकपमा सम्झनलायक सुरुआत दिलाएको छ भने उपाधिको बलियो दाबेदार मानिएको स्पेनका लागि भने यो नतिजा अप्रत्याशित झट्का बनेको छ।



कागजपत्र |
