
विश्वकप फुटबलः केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन, बेल्जिमय र इजिप्ट पनि बराबरीमा
सियाटल – सियाटल स्टेडियममा सोमबार राति भएको समूह ‘जी’ को रोमाञ्चक खेलमा बेल्जियम र इजिप्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खेलको ६६ औं मिनेटमा मैदान छिरेका लुकाकुले त्यसको २८ सेकेन्डमै बेल्जियमलाई बराबरीमा फर्काउन भूमिका खेलेका थिए । उनको यही मुभका कारण चौथो पटक विश्वकप खेलिरहेको इजिप्ट इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्नबाट चुक्यो ।
त्यसअघि खेलको १९ औं मिनेटमा मिडफिल्डर इमाम आसुरले २० यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै इजिप्टलाई सुरुवाती १–० को अग्रता दिलाएका थिए । आसुरको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो । ३० औं खेल खेल्ने क्रममा उनले प्रहार गरेको प्रतिघन्टा ३४ किलोमिटरको गतिको बललाई रियल मड्रिडका प्रख्यात गोलकिपर थिबाउट कोर्टुवाले बचाउन सकेनन् ।
इजिप्टका प्रशिक्षक होसाम हसनले कप्तान मोहम्मद सालाहको ३४ औं जन्मदिनको अवसरमा उनलाई ‘सेन्ट्रल पोजिसन’ मा खेलाउने रणनीतिक निर्णय लिएका थिए, जुन सुरुदेखि नै सफल देखियो । सालाहकै पासमा आसुरले रक्षापंक्तिलाई छ्यापिँदै लोअर लेफ्ट कर्नरमा सुन्दर गोल गरेका थिए ।
पहिलो हाफमा बेल्जियमले इजिप्टको पोस्टमा आठ पटक प्रहार गरे पनि ती निशानामा पर्न सकेनन् र इजिप्टका गोलकिपर मोस्ताफा सोबिरलाई खासै व्यस्त बनाउन सकेनन् । अर्कोतर्फ, इजिप्टले पहिलो हाफमा गरेका दुवै प्रहार पोस्टको दिशामा थिए । खेलको ३३ औं मिनेटमा इजिप्टका मोस्ताफा जिकोको प्रहारलाई बेल्जियमका गोलकिपर कोर्टुवाले उत्कृष्ट बचाउ गरेका थिए ।
दोस्रो हाफमा बेल्जियमले खेलमा थप आक्रामक रणनीति अपनायो । ५५ औं मिनेटमा सालाहको हेड बललाई कोर्टुवाले डाइभ हान्दै उत्कृष्ट बचाउ गरे । त्यसपछि ओमार मार्मुसको प्रहार पनि पोस्ट नजिकैबाट बाहिरिएको थियो ।
खेललाई आफ्नो पक्षमा पार्न बेल्जियमले ६६ औं मिनेटमा स्ट्राइकर लुकाकुलाई मैदान प्रवेश गराएको थियो । मैदान छिरेको २३ सेकेन्डमै थोमस म्युनियरको क्रस बललाई नियन्त्रणमा लिने क्रममा लुकाकुले दुई डिफेन्डरलाई जिल्याए । सोही क्रममा इजिप्टका डिफेन्डर हानीको खुट्टामा ठोक्किएर बल आत्मघाती गोलमा परिणत भएपछि बेल्जियम खेलमा फर्कियो ।
इजिप्टका लिभरपुल स्टार सालाह ७५ औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल १–१ को बराबरीमा टुङ्गियो ।
त्यसअघि उपाधि दाबेदार स्पेन नवप्रवेशी केप भर्डेसँग गोलरहित बराबरीमा रोकिएको छ ।
अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा भएको खेलमा स्पेनले सम्पूर्ण खेलभर दबदबा बनाए पनि गोल गर्न असफल रह्यो । खेलमा स्पेनले ७४ प्रतिशत बल पोजिसन आफ्नो पक्षमा राख्दै केप भर्डेको पोस्टमा निरन्तर आक्रमण गरेको थियो । तर केप भर्डेका गोलकिपर भोजिन्हा खेलका सबैभन्दा ठूलो नायक बने । उनले स्पेनका ८ वटा सट अन टार्गेटसहित दर्जनौँ खतरनाक प्रहारहरू उत्कृष्ट सेभ गर्दै आफ्नो टोलीलाई ऐतिहासिक बराबरी दिलाए ।
सन् २०१० को विश्वच्याम्पियन स्पेनले पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेमाथि जित निकाल्ने अपेक्षा गरिए पनि निर्णायक गोल गर्न सकेन । खेलमा स्पेनले आफ्नो स्टार खेलाडी लामिन यामाल र निको विलियम्सलाई समेत मैदानमा उतारे पनि नतिजा बदल्न सकेन ।
फिफा वरियतामा तेस्रो स्थानमा रहेको स्पेन ६४औँ स्थानमा रहेको केप भर्डेसँग अंक बाँड्न बाध्य भयो ।



कागजपत्र |
