सेयर बजारमा गिरावट कायम, नेप्से २७११ बिन्दुमा झर्‍यो


काठमाडौं- साताको पहिलो कारोबार दिन सोमबार पनि सेयर बजारमा गिरावट देखिएको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.२६ अंकले घट्दै २७११.७६ बिन्दुमा पुगेको हो। यसअघि गत शुक्रबार पनि नेप्सेमा करिब ४ अंकको गिरावट आएको थियो।

बजार घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार नेप्सेमा कुल ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार ३ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

कारोबारमा सहभागी कम्पनीहरूमध्ये ७३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८८ कम्पनीको मूल्य घटेको छ। यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

लगातार दोस्रो कारोबार दिन बजार ओरालो लाग्दा लगानीकर्तामा सावधानी बढेको देखिएको छ।

प्रतिक्रिया