
हर्मुज जलमार्ग खुल्ने सहमतिले अन्तर्राष्ट्रिय तेल बजारमा भाउ घट्यो
काठमाडौं – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्दै रणनीतिक महत्त्वको स्ट्रेट अफ हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने प्रारम्भिक सहमति बनेको समाचारसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। सोमबार तेलको मूल्य घटेर गत मार्च महिनायताकै न्यून स्तरमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
वार्ता सफल भएको खबर सार्वजनिक भएसँगै बजारमा इन्धनको मूल्य उल्लेखनीय रूपमा घटेको हो। ब्रेन्ट क्रुड प्रतिब्यारेल ३.५८ अमेरिकी डलर (४.१० प्रतिशत) ले घटेर ८३.७५ डलरमा झरेको छ। त्यस्तै, वेस्ट टेक्सास इन्टरमिडिएट (WTI) प्रतिब्यारेल ४.०१ डलर (४.७२ प्रतिशत) ले घट्दै ८०.८७ डलरमा कायम भएको छ। यसअघि गत शुक्रबार पनि यी दुवै प्रकारका तेलको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको थियो।
मध्यस्थकर्ताको भूमिकामा रहेको पाकिस्तानका प्रधानमन्त्रीका अनुसार अमेरिका र इरानबीच आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक समझदारीपत्र (MoU) मा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग व्यापारिक जहाजका लागि शुल्कमुक्त रूपमा खुला रहने तथा इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाइने घोषणा गरेको दाबी गरिएको छ। इरानको अर्धसरकारी सञ्चारमाध्यम ‘मेहर’ का अनुसार सम्झौताको मस्यौदामा इरानी व्यवस्थापनमै ३० दिनभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।
केसीएम ट्रेडका मुख्य बजार विश्लेषक टिम वाटररका अनुसार बजारमा तेल आपूर्तिको अवरोध कम हुने संकेत देखिएपछि लगानीकर्तामा विश्वास बढेको छ। यसले भूराजनीतिक जोखिमसँग जोडिएको ‘रिस्क प्रिमियम’ तीव्र रूपमा घटाएको उनको भनाइ छ।
विश्वको कुल तेल तथा तरल प्राकृतिक ग्यास आपूर्तिको करिब २० प्रतिशत हिस्सा ओगट्ने हर्मुज जलमार्ग विगत तीन महिनाभन्दा बढी समयदेखि जारी तनावका कारण प्रभावित रहँदा विश्व बजारले ठूलो मात्रामा इन्धन आपूर्ति गुमाएको थियो।
कमोडिटिज रणनीतिकार विवेक धरका अनुसार हर्मुजमार्गबाट तेल प्रवाह युद्धपूर्वको तुलनामा ६० देखि ७० प्रतिशत मात्र पुनःस्थापित भए पनि बजार सन्तुलनका लागि पर्याप्त हुन सक्छ। उनले वर्षको अन्त्यसम्म ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल करिब ८० डलर वरिपरि रहने अनुमान गरेका छन्।
यता, इरानका उपपरराष्ट्रमन्त्री काजेम गरबाबादीले आगामी ६० दिनको युद्धविराम अवधिमा थप व्यापक सम्झौताका लागि वार्ता अघि बढाइने जानकारी दिएका छन्। तर विश्लेषकहरूले आणविक मुद्दासहितका जटिल विषयका कारण तेलको मूल्य अझै अस्थिर रहने सम्भावना रहेको बताएका छन्।



कागजपत्र |
