मोबाइल चोरी आरोपमा पक्राउ परेका युवकको हिरासतमै मृत्यु


सुर्खेत- मोबाइल चोरीको आरोपमा पक्राउ परेका एक युवकको प्रहरी हिरासतमा रहेको चार दिनमै मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–१० निवासी २१ वर्षीय साबीर बक्सको शनिबार साँझ करिब साढे ५ बजे उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार बक्सलाई जेठ २७ गते मोबाइल चोरीको अभियोगमा पक्राउ गरिएको थियो। उनी प्रहरी हिरासतमा रहेका बेला शनिबार बिहान एकाएक बेहोस भएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी कविन्द्रसिंह बोहराले हिरासतमा रहेका बक्स अचानक अचेत भएपछि तत्काल उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको जानकारी दिए। अस्पतालमा उपचार भइरहेकै क्रममा उनको मृत्यु भएको उनले बताए।

बक्सको मृत्युको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन। प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारणबारे स्पष्ट जानकारी दिन सकिने जनाएको छ।

प्रहरीका अनुसार मृतक बक्सविरुद्ध यसअघि पनि विभिन्न प्रकृतिका झन्डै एक दर्जन मुद्दा दर्ता भएका थिए। उनी लागुऔषधसम्बन्धी मुद्दामा समेत यसअघि पक्राउ परिसकेका व्यक्ति रहेको प्रहरीको भनाइ छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया