सिंहदरबारभित्रका क्यान्टिनसहित १२ फर्ममा विभागको अनुगमन, कारबाही र जरिवाना


काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनसहित १२ वटा व्यावसायिक फर्ममा अनुगमन गरी कैफियत भेटिएपछि कारबाही गरेको छ।

विभागले शुक्रबार गरेको नियमित अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ विपरीत कार्य गरेको पाइएपछि सम्बन्धित फर्महरूलाई जरिवाना तथा निर्देशन दिएको हो।

विभागका अनुसार सिंहदरबारभित्र सञ्चालित ‘जी एण्ड बी क्याफे ग्रुप’ (केन्द्रीय क्यान्टिन) लाई २ लाख १ हजार रुपैयाँ जरिवाना गरिएको छ। क्यान्टिनमा गुणस्तरहीन खाद्य सामग्री प्रयोग भएको पाइएपछि उपभोक्ता संरक्षण ऐन बमोजिम कारबाही गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा क्यान्टिनमा रहेको गुणस्तरहीन चनाको दाल, नेपाली बदाम र अण्डा गरी ६ हजार ५६० रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको पनि विभागले जनाएको छ।

त्यसैगरी, भक्तपुरको चाँगुनारायणस्थित ‘जय छुमा गणेश शुद्ध खानेपानी प्रालि’ लाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ। उत्पादनको लेबल (विवरण) बिना पानी बिक्री वितरण गरेको पाइएपछि उक्त कारबाही गरिएको हो।

विभागका अनुसार अनुगमन गरिएका अन्य १० वटा फर्महरूलाई भने सुधारका लागि सामान्य निर्देशन दिइएको छ।

प्रतिक्रिया