
प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ
बाँके- बाँकेको बैजनाथ गाउँपालिका–६ स्थित ईश्वरी माध्यमिक विद्यालयको सरकारी जग्गा अतिक्रमण हटाउने क्रममा प्रहरीमाथि धारिलो हतियार (दाउ) प्रहार भएको छ।
गाउँपालिकाले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि अटेर गरेपछि जिल्ला प्रशासन कार्यालय बाँकेको निर्णयअनुसार अतिक्रमित संरचना हटाउने कार्य अघि बढाइएको थियो।
सो क्रममा घरटहरा निर्माण गरी बस्दै आएकी अन्दाजी ३६ वर्षीया शाबित्रीकुमारी शाहीले प्रहरीमाथि दाउ प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहारबाट प्रहरी चौकी सम्झना बाँकेमा कार्यरत प्रहरी हवल्दार सुनिलकुमार चौधरीको दाहिने काँध पछाडिको भागमा सामान्य चोट लागेको छ भने उनको अवस्था सामान्य रहेको जनाइएको छ।
घटनापछि शाहीलाई दाउसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



कागजपत्र |
