
श्रीमती हत्या आरोपमा ‘नेपाली ब्रो’लाई पाँच दिन म्याद थप
काठमाडौं- सैनिक कर्मचारीसमेत रहेकी श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापामाथि अनुसन्धानका लागि अदालतले पाँच दिनको म्याद थप गरेको छ।
काठमाडौँ जिल्ला अदालतले थप अनुसन्धानका लागि थापालाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए। आरोप अनुसार जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा भुजेलमाथि रड प्रहार गरी हत्या गरिएको थियो।
बुधबार उनलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार न्यायाधीश पिताम्बर शर्माको इजलासले पाँच दिनको म्याद थप अनुमति दिएको हो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।



कागजपत्र |
