१० महिनामा १९ खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो, ४१ प्रतिशतले वृद्धि


काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा नेपालमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार उक्त अवधिमा रेमिट्यान्स आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १३.३ प्रतिशतले मात्र बढेको थियो। चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जबकि अघिल्लो वर्ष सोही महिनामा यो रकम १ खर्ब ६५ अर्ब ३० करोड थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा मापन गर्दा पनि रेमिट्यान्स ३३ प्रतिशतले वृद्धि भई १३ अर्ब २६ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि १०.६ प्रतिशत थियो।

यस अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २० खर्ब ९१ अर्ब ८६ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब २८ करोड रहेको थियो।

त्यसैगरी वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ३ लाख ३५ हजार ५१० पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या ३ लाख २६ हजार ३६४ रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यो संख्या क्रमशः ४ लाख ५ हजार ६१० र २ लाख ८० हजार ३१४ रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया