
कांग्रेसको आह्वानमा सिंहदरबारमा विपक्षी दलको छलफल
काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको आह्वानमा विपक्षी दलहरूको बैठक सुरु भएको छ। मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बसेको हो।
बैठकमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा तथा सचेतक निश्कल राई सहभागी छन्। यस्तै नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर उपस्थित छन्।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ खुश्बु ओलीसहित विभिन्न विपक्षी दलका नेताहरू बैठकमा सहभागी भएका छन्।
यसअघि प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए।
संसद्मा देखिएको गतिरोध र आगामी रणनीतिबारे साझा धारणा बनाउन कांग्रेसले विपक्षी दलहरूको बैठक बोलाएको बताइएको छ। बैठकमा संसद्को पछिल्लो अवस्था, विपक्षी दलहरूको भूमिका तथा आगामी कदमबारे छलफल हुने अपेक्षा गरिएको छ।



कागजपत्र |
