सुधन गुरुङ प्रकरणमा गगनको प्रश्न : ‘झाँक्री पनि आफैँ, बोक्सी पनि आफैँ किन ?’


काठमाडौं-  नेपाली कांग्रेसका सभापति गगन थापाले सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्ने बताएका छन्। गोरखामा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म सबैले आफ्नो सम्पत्तिको वैध स्रोत पुष्टि गर्न तयार हुनुपर्ने बताए।

सभापति थापाले कांग्रेस सम्पत्ति छानबिनको प्रक्रियामा सहभागी हुन तयार रहेको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरूले पनि आफ्नो सम्पत्तिको स्रोतबारे जवाफ दिनुपर्ने धारणा राखे।

उनले भने, “हामी सम्पत्ति छानबिनका लागि तयार छौँ। प्रधानमन्त्री र मन्त्री बन्ने क्रममा देखाइएको सम्पत्तिभन्दा अहिलेको सम्पत्तिको अवस्था के छ भन्ने प्रश्न उठ्दा त्यसको वैध स्रोत देखाउन सक्नुपर्छ। नागरिकले यो उमेरमा यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर सोध्दा स्पष्ट जवाफ दिन सक्ने साहस हुनुपर्छ।”

थापाले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि सरकारले गरेको छानबिन प्रक्रियामाथि पनि प्रश्न उठाए। उनले छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गर्दै सरकारको भूमिकाप्रति असन्तुष्टि जनाए।

उनले व्यंग्यात्मक शैलीमा भने, “अहिले देखिएको अवस्था झाँक्री पनि आफैँ, बोक्सी पनि आफैँ भनेजस्तै भएको छ। कालेकाले मिलेर खाऊँ भाले भन्ने शैलीमा किन जाने? यदि छानबिन निष्पक्ष हुँदैन भने पहिल्यै स्पष्ट भनिदिएको भए हुन्थ्यो।”

सभापति थापाले सुशासन र जवाफदेहिताको आधार बलियो बनाउन सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति र त्यसको स्रोतबारे पारदर्शी ढंगले छानबिन हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया