हुम्ला–बाजुरा सीमा विवाद समाधान गर्न निर्देशन


काठमाडौं- राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराबीचको सीमा विवादबाट उत्पन्न समस्या समाधानका लागि दीर्घकालीन उपाय खोज्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

सोमबार बसेको समितिको बैठकमा सभापति जयन्तीदेवी राईले सीमा विवादको स्थायी समाधानका लागि स्थानीय बासिन्दा, प्रशासन तथा सम्बन्धित निकायबीच बृहत् छलफल गरी स्पष्ट निष्कर्षमा पुग्न गृह मन्त्रालयलाई निर्देशन दिएकी हुन्।

बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा च्याचौर क्षेत्र (रानीसैन) मा देखिएको विवाद हाल सामान्य अवस्थामा फर्किएको जानकारी दिए। उनले स्थानीयस्तरमा समन्वय र संवादमार्फत स्थिति नियन्त्रणमा आएको बताए।

त्यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले उक्त क्षेत्रमा सुरक्षा अवस्थाबारे समितिलाई जानकारी गराउँदै पर्याप्त स्रोत–साधनको अभावका कारण अस्थायी संयुक्त सुरक्षा बेस स्थापना गर्ने विषयमा गृहकार्य भइरहेको बताए। उनले घटनामा संलग्न दोषीमाथि कारबाही प्रक्रिया तीव्र रूपमा अघि बढाइएको पनि जानकारी दिए।

सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलले विवादित क्षेत्र भौगोलिक रूपमा अत्यन्त दुर्गम रहेकाले सुरक्षा व्यवस्थापन र प्रशासनिक पहुँचमा चुनौती रहेको बताए।

बैठकमा सांसदहरू नारायणदत्त मिश्र, रोशनी मेचे, श्रीकृष्णप्रसाद अधिकारी, सोनाम गेल्जेन शेर्पा, किरणबाबु श्रेष्ठ र धर्मेन्द्र पासवानले सीमा विवादका कारण उत्पन्न समस्या तत्काल समाधान गर्न तथा भविष्यमा यस्ता विवाद दोहोरिन नदिने गरी दीर्घकालीन उपाय अवलम्बन गर्न सुझाव दिएका थिए।

गत जेठ ३ गते बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटा क्षेत्रमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीका स्थानीय र बाजुराका स्थानीयबीच विवाद उत्पन्न भएको थियो। विवाद चर्किँदा कुटपिट र झडपसमेत भएको थियो, जसमा केही स्थानीय घाइते भएका थिए।

प्रतिक्रिया