
हर्क साम्पाङको माग : सीमाबारे प्रधानमन्त्रीले बोलेको कुरा आफैं सच्याउनुपर्छ
काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सीमा क्षेत्रमा तैनाथ गर्नुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सीमा सुरक्षालाई अझ कडा बनाउन सेनालाई सिमानामा खटाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले नेपालले भारततर्फ सीमा मिचेको भन्ने अभिव्यक्तिबारे स्पष्ट प्रमाण प्रस्तुत गर्नुपर्ने पनि बताए। “सेनालाई सीमानामा लगेर तैनाथ गर्नुपर्छ। राख्नुपर्ने सिमानामै हो। त्यसतर्फ ध्यान दिनुपर्छ,” उनले भने।
सदन सञ्चालनका क्रममा सभामुख डीपी आर्यालले गरेको आग्रह आफूहरूले स्वीकार गर्न नसक्ने पनि उनले बताए। उनले भने, “सभामुखको आग्रह स्वीकार गर्न सकिँदैन। कहाँ–कहाँ सीमा मिचिएको हो, त्यो पुष्टि हुनुपर्छ। उहाँले आफ्नो भनाइ सच्याउनुपर्छ। त्यो नसच्याएसम्म अन्य विषयमा प्रवेश गर्नु मिथ्या हुन्छ।”
साम्पाङले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पनि प्रधानमन्त्री स्वयंले नै सच्याउनुपर्ने बताए। उनका अनुसार परराष्ट्र मन्त्री वा अन्य कुनै मन्त्रीले उक्त भनाइ सच्याउने कुरा स्वीकार्य नहुने उनले स्पष्ट पारे।
उनले भने, “उहाँले बोलेको कुरा परराष्ट्र मन्त्री वा अरूले सच्याइदिने भन्ने कुरा हामीलाई मान्य छैन। त्यो उहाँकै मुखबाट सच्याइनुपर्छ भन्ने हाम्रो माग हो।”



कागजपत्र |
