
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
रुकुम पश्चिम – रुकुम पश्चिममा एक जना वडाध्यक्षसहित ६ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका—४, का वडाध्यक्ष ४७ वर्षीय नन्नराम बाठा, मुसिकोट नगरपालिका—११, का ४८ वर्षीय कमल पुन, त्रिवेणी—५ का ४४ वर्षीय डिल्लीबहादुर घर्ती रहेका छन् ।
यस्तै, सोही ठाउँका ३० वर्षीय शिव विवश घर्तीमगर, नन्द कुमार घर्तीमगर र त्रिवेणी—२ का ४० वर्षीय मन बहादुर बोहोरा रहेका छन् ।
रुकुम पश्चिम प्रहरीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबार बिहान करिब २ बजेको समयमा त्रिवेणी गाउँपालिका—४ लामाखेतस्थित विमलबहादुर खड्काको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरी चौकी सिम्रुतबाट प्रहरी निरीक्षक हेमन्त गिरीको कमान्डमा खटिएको ६ जनाको टोलीले छापा मार्दा जुवाको खालबाट नगद १ लाख ६७ हजार १०५ रुपैयाँ, एक गड्डी खोलेको र एक गड्डी नखोलेको तास बरामद गरेको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम पठाइएको छ ।



कागजपत्र |
