
कृष्णबहादुर महरालाई एक लाख धरौटीमा छोड्न अदालतको आदेश
काठमाडौं- विशेष अदालतले भ्रष्टाचार मुद्दा खेपिरहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले महरालाई विद्युतीय चुरोट (भेप) भित्र लुकाएर गरिएको सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपसम्बन्धी मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत भएको सुन तस्करीमा सघाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २६ चैत, २०८२ मा पूर्वसभामुख कृष्णबहादुर महरा, उनका छोरा राहुलसहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारका अनुसार १० पुस, २०७९ मा फ्लाई दुबईमार्फत आएका चिनियाँ नागरिक लि हाङ सोङले ल्याएका दुई सुटकेसभित्र ७३ बट्टामा ७३० वटा इलेक्ट्रोनिक सिगरेट (भेप) राखिएको थियो, जसमा सुन लुकाइएको आरोप छ।
उक्त सुन तस्करी प्रकरणमा भन्सार कर्मचारीहरूको समेत मिलेमतो रहेको दाबी गरिएको छ। शंकास्पद सामानको उचित जाँच नगरी मिलेमतोमा पास गरिएको तथा बरामद सामान गोदाममा राख्नुपर्नेमा प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा राखिएको आरोप पनि लगाइएको छ।
त्यसैगरी, तस्करी समूहका व्यक्तिहरूसँग अस्वाभाविक सम्पर्क र भेटघाट भएको आधारमा महरासहितका व्यक्तिहरूमाथि मुद्दा चलाइएको अख्तियारले जनाएको छ।



कागजपत्र |
