
कडा सुरक्षाबीच कैलालीमा मुख्यमन्त्रीद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालकाे उद्घाटन
कैलाली – कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल अन्ततः उद्घाटन गरिएको छ । बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कडा सुरक्षा व्यवस्थाबीच अस्पतालको उद्घाटन गरेका हुन् ।
यसअघि नगर प्रमुख सुशीला शाहीको अवरोधका कारण उद्घाटन रोकिएको थियो । यसपटक पनि नगरप्रमुख शाहीले उद्घाटन नगर्न आग्रह गर्दै आएकी थिइन् । तर उनी अजरबैजान भ्रमणमा रहेका बेला प्रदेश सरकारले कार्यक्रम अघि बढाउँदै अस्पताल उद्घाटन सम्पन्न गरेको हो ।
उद्घाटन समारोहमा लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरी सहभागी भएकी थिइन् । कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रामेश्वर चौधरीलगायत जनप्रतिनिधि र सरोकारवालाको उपस्थिति रहेको थियो ।
अस्पताल उद्घाटनका क्रममा सम्भावित अप्रिय घटना रोक्न अस्पताल परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो परिचालन गरिएको थियो । नगर प्रहरीले भने अस्पताल क्षेत्रमा प्रवेश गर्न नपाएको बताइएको छ । सुरक्षा घेराबीच उद्घाटनपछि औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले नगर प्रमुख शाहीको अनुपस्थितिलाई संकेत गर्दै विकास निर्माणका काममा अवरोध नगर्न आग्रह गरेका थिए । उनीहरूले अस्पताल सञ्चालनले क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध हुने बताएका थिए ।
नगर प्रमुख शाही भने प्रदेश सरकारले सहमतिविनै जबर्जस्ती अस्पताल सञ्चालन गर्न खोजेको भन्दै विरोधमा उत्रिँदै आएकी छन् । यद्यपि यसअघि उनले नै १५ शैयाको नगर अस्पताललाई ५० शैयाको प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने प्रस्तावमा सहमति जनाएको बताइन्छ ।
संघीय सरकारले सोही प्रस्तावअनुसार लम्कीचुहालाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको थियो । तर आवश्यक सम्झौताविनै प्रदेश सरकारले हस्तक्षेप गरेको भन्दै नगरप्रमुख शाहीले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् ।
सर्वोच्च अदालतले स्वास्थ्य सेवा प्रदेश सरकारको एकल अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गर्दै तत्काल अन्तरिम आदेश दिन अस्वीकार गरेपछि प्रदेश सरकारले अस्पताल सञ्चालन प्रक्रिया तीव्र बनाएको हो ।



कागजपत्र |
