
हर्क साम्पाङप्रति आशिका तामाङको टिप्पणी- ‘चिनी धेरै भयो भने तितो हुन्छ’
काठमाडौं- सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सदनमा देखिएको कार्यशैलीप्रति आपत्ति जनाएकी छन् ।
पहिले साम्पाङको कट्टर समर्थक रहेको स्वीकार गर्दै तामाङले पछिल्लो समय उनको व्यवहार ‘अति’ भएको टिप्पणी गरेकी हुन् । उनले भनिन्, “चिनी पनि धेरै खायो भने तितो हुन्छ,” भन्दै साम्पाङको निरन्तरको विरोध र अडानप्रति असन्तुष्टि व्यक्त गरिन् ।
तामाङले वर्तमान सरकार गठन भएको छोटो समयमै प्रतिपक्षबाट असम्भव अपेक्षा राखिएको भन्दै पनि कटाक्ष गरिन् । “यो सरकार ४०–५० वर्ष पुरानो होइन, भर्खरै एक महिना मात्र भएको छ। के एक महिनामै आकाशबाट जुन र तारा झार्नुपर्ने हो?” उनले प्रश्न गरिन् ।
उनका अनुसार हर्क साम्पाङले सदनमा बारम्बार प्रधानमन्त्रीको मात्र खोजी गर्ने र अन्य सांसदहरूको भूमिकालाई नजरअन्दाज गर्ने गरेको देखिएको छ । उनले भनिन्, “के सदनमा हामी सांसदहरूको कुनै अस्तित्व छैन? घण्टौँ उभिने, बोल्न नपायो भनेर सभामुखलाई दोष दिने कामले मात्र देश बन्दैन ।”
विकासलाई केवल भाषण र वाकयुद्धमा सीमित गर्न नहुने बताउँदै तामाङले व्यवहारिक काममा ध्यान दिनुपर्ने आवश्यकता औंल्याइन् । उनले थपिन्, “यदि बोलेर मात्र देश विकास हुने भए नेपाल धेरै अघि सिङ्गापुर भइसक्थ्यो । सबैले मर्यादा र समयको ख्याल गर्नुपर्छ ।”



कागजपत्र |
