सुदूरपश्चिमले राष्ट्रिय अर्थतन्त्रमा ७ प्रतिशत योगदान गर्ने अनुमान


काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन (GPP) को प्रारम्भिक अनुमानअनुसार सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब चार खर्ब ६४ अर्ब रुपैयाँ पुग्ने देखिएको छ ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षमा सुदूरपश्चिमले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादनमा सात प्रतिशत योगदान गर्ने अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने यसको योगदान ७.१ प्रतिशत रहेको थियो ।

प्रादेशिक लेखा अनुमान प्रचलित तथा स्थिर मूल्यमा मापन गरी तयार गरिएको हो । स्थिर मूल्यको आधारमा गरिएको गणनाअनुसार प्रदेशको आर्थिक वृद्धिदर ३.२८ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन राष्ट्रिय औसत ३.८५ प्रतिशतभन्दा कम हो ।

तथ्याङ्कअनुसार प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३३.४३ प्रतिशत रहने अनुमान गरिएको छ । त्यसपछि सेवा क्षेत्रको हिस्सा ५२.७ प्रतिशत र द्वितीय क्षेत्रको हिस्सा १३.७ प्रतिशत रहने देखिएको छ ।

औद्योगिक वर्गीकरणअनुसार वित्तीय तथा बिमा क्षेत्रमा सबैभन्दा उच्च ७.९८ प्रतिशत वृद्धिदर रहने अनुमान गरिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप र कर्जा प्रवाह बढेकाले उक्त क्षेत्रको वृद्धि भएको तथ्याङ्क अधिकृतहरूले बताएका छन् ।

त्यसैगरी यातायात पूर्वाधार विस्तार, इन्टरनेट पहुँच वृद्धि तथा सूचना–सञ्चार क्षेत्रमा पनि सकारात्मक वृद्धि देखिएको छ । तर सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने ०.१८ प्रतिशत ऋणात्मक वृद्धिदर रहने अनुमान गरिएको छ । सरकारी खर्च न्यून हुनु यसको प्रमुख कारण भएको बताइएको छ ।

प्रदेशको प्रतिव्यक्ति कूल गार्हस्थ्य उत्पादन १,१७० अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ, जबकि राष्ट्रिय औसत प्रतिव्यक्ति आय १,५१३ अमेरिकी डलर रहने देखिएको छ ।

प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारले तथ्याङ्कले नीति, योजना तथा बजेट निर्माणमा महत्वपूर्ण आधार दिने बताएका छन् । त्यस्तै आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रकुमार हमालले तथ्याङ्कमा आधारित योजना निर्माणमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया