
कङ्गो र युगान्डामा इबोला प्रकोप, हालसम्म ८८ जनाको मृत्यु
अबुजा- विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म ३०० भन्दा बढी शङ्कास्पद सङ्क्रमण र ८८ जनाको मृत्यु भइसकेको जनाइएको छ ।
डब्लुएचओका अनुसार यो प्रकोप हाल कोरोना महामारीजस्तो विश्वव्यापी स्तरमा नपुगेको भए पनि अन्तर्राष्ट्रिय रूपमा फैलिने जोखिम भने बढ्दै गएको छ । सङ्गठनले देशहरूलाई सीमा बन्द नगर्न पनि आग्रह गरेको छ ।
कङ्गोको राजधानी किन्शासामा समेत प्रयोगशालाबाट पुष्टि भएको इबोला सङ्क्रमण फेला परेको छ । किन्शासा प्रकोपको केन्द्र मानिएको पूर्वी इतुरी प्रान्तबाट करिब एक हजार किलोमिटर टाढा पर्छ ।
सङ्क्रमित व्यक्ति इतुरीबाट यात्रा गरेर आएको बताइएको छ । उत्तरी किभु प्रान्तमा पनि शङ्कास्पद बिरामीहरू फेला परेका छन् । उक्त क्षेत्र कङ्गोको घना जनसङ्ख्या भएको क्षेत्रमध्ये एक हो र इतुरीसँग सीमा जोडिएको छ । पूर्वी कङ्गोको सबैभन्दा ठूलो शहर गोमामा पनि पहिलो इबोला सङ्क्रमण पुष्टि भएको स्थानीय प्रशासनले जनाएको छ ।
सङ्क्रमित व्यक्ति इतुरीबाट आएको र हाल आइसोलेसनमा राखिएको बताइएको छ । गोमा शहर सन् २०२५ मा विद्रोही समूहहरूको तीव्र आक्रमणको केन्द्र बनेको थियो । कङ्गो सरकार र रुवाण्डा समर्थित एम–२३ विद्रोही समूहबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् ।
इबोला अत्यन्त सङ्क्रामक रोग मानिन्छ । सङ्क्रमित व्यक्तिको रगत, बान्ता, वीर्य तथा अन्य शारीरिक तरल पदार्थमार्फत यो भाइरस सर्ने गर्दछ । यो रोग दुर्लभ भए पनि गम्भीर र प्रायः घातक हुने चिकित्सकहरूले बताएका छन् ।
डब्लुएचओको आपत्काल घोषणाले अन्तर्राष्ट्रिय सहायता निकायहरू र देशहरूलाई समन्वयात्मक रूपमा तत्काल सहयोग गर्न दबाब सिर्जना गर्ने अपेक्षा गरिएको छ । अफ्रिकास्थित डब्लुएचओको क्षेत्रीय कार्यालयले ३५ जना विशेषज्ञको टोली इतुरी प्रान्तको राजधानी बुनियामा पुगेको जनाएको छ ।
टोलीसँग सात टन आपत्कालीन औषधि तथा स्वास्थ्य सामग्री पनि पठाइएको छ । यसअघि पनि अफ्रिकामा विभिन्न संक्रामक रोग फैलिँदा डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गर्दै आएको छ । तर आवश्यक खोप, परीक्षण सामग्री र औषधि प्रभावित देशहरूमा समयमै नपुगेको भन्दै आलोचना हुने गरेको छ ।



कागजपत्र |
