
सभापति थापाको ‘परमादेश’ क्रियाशील सदस्यले टेरेनन्
आठ लाख क्रियाशीलमध्ये ५६ हजारले मात्रै गरे अद्यावधिक, बाँकीले किन टेरेनन्?
काठमाडौं – विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसको सभापति बनेका गगन थापा पार्टी रूपान्तरण, संगठन सुदृढीकरण र नयाँ पुस्ताको नेतृत्वको नारासहित आक्रामक रूपमा अघि बढिरहेका छन् ।
निर्वाचन आयोग र अदालतबाट समेत विशेष महाधिवेशनको वैधानिकताले आधिकारिकता पाएपछि थापाले आफूलाई पार्टीको पूर्ण नेतृत्वमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । तर, क्रियाशील सदस्यता अद्यावधिक अभियानको पछिल्लो तथ्यांकले भने उनको नेतृत्वमाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
१५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै सभापति थापाले वैशाख ३० गतेभित्र सबै क्रियाशील सदस्यले अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्ने निर्देशन दिएका थिए । सामान्य कार्यकर्तादेखि केन्द्रीय नेतासम्म सबै स्वयं वडामा उपस्थित भएर सदस्यता नवीकरण गर्नुपर्ने उनको स्पष्ट आदेश थियो । सोही आदेश बमोजिम उनी स्वयं आफू पनि कियाशील सदस्यता लिएको वडामै गएर आफ्नो क्रियाशीलको अद्यावधिकको तस्बिर समेत सार्वजनिक गर्दै सबैलाई वडामै गएर क्रियाशील अद्यावधिक गर्नका लागि अभिप्रेरित गरेका थिए ।
तर पार्टी स्रोतका अनुसार देशभर रहेका करिब आठ लाख क्रियाशील सदस्यमध्ये निर्धारित मितिसम्म जम्मा ५६ हजारले मात्रै अद्यावधिक गरेपछि सात लाख ४४ हजार क्रियाशील सदस्यले सभापति थापाको निर्देशन अवमूल्यन गरेको हुन् ।
यही तथ्यांकलाई लिएर अहिले कांग्रेसभित्र तीखा प्रश्न उठ्न थालेका छन् । के क्रियाशील सदस्यहरूले गगन थापाको नेतृत्वलाई मन पराएनन् ? के उनीहरूले विशेष महाधिवेशनबाट बनेको नेतृत्वलाई पूर्ण रूपमा स्वीकार गरेनन् ? वा पार्टीको आधार तहले थापाको निर्देशनलाई नै बेवास्ता गरिदियो ?
कांग्रेसमा सदस्यता प्राप्त गरेको कम्तीमा १ वर्षपछि मात्र क्रियाशील सदस्यता दिइने प्रावधान रहेकोमा विशेष महाधिवेशनपछि सभापति बनेका थापाले पुराना कार्यकर्ताबाट साथ पाउन नसकेपछि नयाँ युवाहरुलाई पार्टीमा प्राथमिकता दिने नाममा सिधै क्रियाशील सदस्यता दिने प्रपञ्च रचेका हुन् ।
विशेष महाधिवेशनपछि गगन थापा पार्टीभित्र शक्तिशाली र निर्णायक नेताका रूपमा उदाएका थिए । युवापुस्ताको आकर्षण, परिवर्तनको नारा र पुरानो नेतृत्वप्रतिको असन्तुष्टिलाई पूँजी बनाएर उनी सभापतिमा पुगेका थिए । तर अहिलेको सदस्यता अद्यावधिकको कमजोर उपस्थितिले उनको वास्तविक संगठनात्मक प्रभाव कति छ भन्ने प्रश्न उठाइदिएको छ ।
पार्टीभित्रका कतिपय नेताहरूले यो परिणामलाई ‘नेतृत्वको अस्वीकार’का रूपमा समेत व्याख्या गर्न थालेका छन् । उनीहरूका अनुसार यदि सभापतिको प्रत्यक्ष निर्देशनलाई नै अधिकांश क्रियाशील सदस्यहरूले पालना गर्दैनन् भने त्यो केवल व्यवस्थापनको कमजोरी मात्र नभई राजनीतिक सन्देश पनि हो ।
कतिपयले भने पार्टीभित्रको अन्योल, आन्तरिक गुटबन्दी, सदस्यता प्रणालीको झन्झट र स्थानीय तहसम्म प्रभावकारी समन्वय नपुग्दा यस्तो अवस्था आएको तर्क गरिरहेका छन् । तर पनि तथ्यांकले उठाएको राजनीतिक प्रश्न भने अझै गम्भीर बनेको छ ।
विशेष बाटोबाट बनेको नेतृत्वलाई अदालत र निर्वाचन आयोगले वैधानिकता दिए पनि के पार्टीको आधार तहले भावनात्मक र राजनीतिक रूपमा स्वीकार गर्यो त ?
अहिले कांग्रेस वृत्तमा यही प्रश्न सबैभन्दा धेरै चर्चामा छ । र, गगन थापासामु अर्को चुनौती पनि थपिएको छ — अब उनले यो परिणामलाई सामान्य कमजोरी मानेर अघि बढ्ने कि यसलाई संगठनभित्रको चेतावनीका रूपमा ग्रहण गर्ने ?
सभापति थापाले घोषणा गरेको १५ औं महाधिवेशनको कार्यतालिकामा संगठनको महत्वपूर्ण मानिएको क्रियाशील सदस्यहरुले नै बेवास्ता गरिदिएपछि अडानबाट पछि हट्न बाध्य भए । सबैलाई वडामै स्वयं उपस्थिति भएर सदस्यता नविकरण गर्नुपर्ने सभापति थापाको ‘आदेश’ अव्यवहारिक भएको पुष्टी वैशाख ३० सम्म नविकरण गरिएको संख्याले गरेको छ ।
आफ्नै कार्यकर्ताबाट साथ नपाएको महसुस गरेका सभापति थापाले त्यसपछि भने मोबाइलबाट अनलाइनकै माध्यमबाट अद्यावधिक गर्न सकिने व्यवस्था गरे । यदि सदस्यता नविकरणमा समस्या देखिएमा फोन गरेरै सदस्यता नविकरण गर्न सकिने व्यवस्था बनाउनुलाई कार्यकर्तालाई सहज बनाउने तरिका मात्र नभई सभापति थापा आफ्नो अडानबाट पछि हटेको वास्तविकता भने टार्न सकेका छैनन् ।
त्यसबाहेक वर्षौंदेखि पार्टीका लागि जेलनेल भोगेका पुराना कार्यकर्ताहरुले क्रियाशील सदस्यता नविकरण नगरेपछि यतिबेला सभापति थापाले अर्को ‘फन्डा’ मच्चाईरहेका छन्–३० वर्ष मुनिकालाई सिधै क्रियाशील सदस्यता । कांग्रेसको सदस्यता व्यवस्थापन समितिमार्फत सभापति थापाले ३० वर्ष मुनिका कार्यकर्तालाई सिधै क्रियाशील सदस्यता दिने व्यवस्था गरेका छन् । कांग्रेसमा सदस्यता प्राप्त गरेको कम्तीमा १ वर्षपछि मात्र क्रियाशील सदस्यता दिइने प्रावधान रहेकोमा विशेष महाधिवेशनपछि सभापति बनेका थापाले पुराना कार्यकर्ताबाट साथ पाउन नसकेपछि नयाँ युवाहरुलाई पार्टीमा प्राथमिकता दिने नाममा सिधै क्रियाशील सदस्यता दिने प्रपञ्च रचेका हुन् । यसबाट सभापति थापाले कांग्रेसकै पुराना नेता तथा कार्यकर्ताको विश्वास जित्न नसकेको स्पष्ट भएको छ ।



कागजपत्र |
