डडेल्धुराकाे अमरगढीका जनस्वास्थ्य अधिकृत सञ्चालक रहेको बोहरा मेडिकलमा ‘अवैध धन्दा’


काठमाडाैं– प्रेस्क्रिप्सन बिना साइकोट्रपिक औषधि बिक्री गरेको आरोपमा डडेल्धुराकाे बोहरा मेडिकलमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

जिल्लाको अमरगढी नगरपालिका–५ मा रहेको उक्त मेडिकलका सञ्चालक स्यामराज बोहरा अमरगढी नगरपालिकाका जनस्वास्थ्य अधिकृतसमेत हुन्। एक उजुरीपछि उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बुधबार नियन्त्रणमा लिएको थियो। त्यसपछि बिहीबार प्रहरीले मुद्दासम्बन्धी मिसिल औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगञ्जमा पठाएको थियो।

विभागले मिसिल अध्ययनपछि मेडिकलविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ। विभागका सूचना अधिकारी तथा फार्मेसी सुपरभाइजर दिनेशराज न्यौपानेका अनुसार मेडिकलले प्रतिबन्धित औषधि नभई अनुमति प्राप्त साइकोट्रपिक औषधि प्रेस्क्रिप्सनबिना बिक्री गरेको खुलेको हो।

उनका अनुसार यस्ता औषधि चिकित्सकको प्रेस्क्रिप्सन र अभिलेखअनुसार मात्र बिक्री गर्न पाइन्छ। तर प्रहरी प्रतिवेदनमा बोहरा मेडिकलको अभिलेख र औषधि कारोबार विवरण नमिलेको उल्लेख गरिएको छ।

विभागले ऐनअनुसार बोहरा मेडिकलको दर्ता निलम्बन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। अन्तिम निर्णय भने विभागको केन्द्रीय कार्यालयले गर्ने बताइएको छ।

उक्त प्रकरणमा मेडिकल सञ्चालक बोहरालाई हाल हाजिर जमानीमा रिहा गरिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जले जनाएको छ।

प्रतिक्रिया