
सगरमाथा आरोहण मार्ग खुला, चुचुरोसम्म टाँगियो डोरी
काठमाडौं- यस वर्षको वसन्त ऋतुका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण मार्ग खुला गरिएको छ । सगरमाथा आधारशिविरदेखि चुचुरोसम्म डोरी टाँग्ने काम सम्पन्न भएसँगै आरोहणका लागि मार्ग खुला भएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत पुस २ गते सगरमाथा, ल्होत्से र नुप्से हिमालको आरोहण मार्ग व्यवस्थापन गर्ने जिम्मेवारी सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र पर्वतीय सहयोग सङ्घ नेपाललाई दिएको थियो ।
पर्यटन विभागका अनुसार बुधबार बिहान १०ः२५ बजे आधारशिविरदेखि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न गरिएको हो । विभागले उक्त कार्यमा खटिएका पथप्रदर्शक तथा ‘आइसफल डाक्टर’हरूप्रति कृतज्ञता व्यक्त गरेको छ ।
विभागले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आधारशिविरदेखि क्याम्प–२ सम्म डोरी टाँग्ने कार्यमा आठ जना आइसफल डाक्टर खटिएका थिए भने क्याम्प–२ देखि चुचुरोसम्म ११ जना पथप्रदर्शक संलग्न रहेका थिए ।
आरोहण मार्ग तयार भएसँगै अब वसन्तकालीन सगरमाथा आरोहण अभियानले तीव्रता पाउने अपेक्षा गरिएको छ ।



कागजपत्र |
