सरकारी अस्पतालको जग्गा संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पतालहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षण गर्न निर्देशन दिएको छ ।

मन्त्रालयले बुधबार एक पत्र जारी गर्दै अस्पतालको जग्गामा भएका अतिक्रमण हटाउन र साँध–सिमाना सुरक्षित गर्न तत्काल कदम चाल्न निर्देशन दिएको हो ।

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल), बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मुलुकभरका प्रमुख अस्पताल, शैक्षिक प्रतिष्ठान र केन्द्रहरूलाई पत्र पठाउँदै आफ्नो जग्गाको वस्तुस्थिति स्पष्ट पार्न भनेको छ । निर्देशनअनुसार अस्पतालहरूले स्वीकृत नक्सा बमोजिम आफ्नो सिमाना यकिन गर्नुपर्नेछ र जग्गामा कुनै अनाधिकृत संरचना निर्माण वा अतिक्रमण भएको भए त्यसको विस्तृत विवरण तयार पार्नुपर्नेछ ।

यदि अस्पतालको जग्गामा अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समय तोकेर लिखित रूपमा सूचना जारी गर्न मन्त्रालयले आदेश दिएको छ।

तोकिएको समयभित्र पनि अनाधिकृत संरचना नहटाइएमा जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र सुरक्षा निकायहरूसँग समन्वय गरी बल प्रयोग गरेरै भए पनि अतिक्रमण हटाउन र अस्पतालको भोगाधिकार पुनः कायम गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यसका साथै, अतिक्रमणमुक्त गराइएको वा हाल खाली रहेको जग्गामा पुनः अतिक्रमण हुन नदिन अनिवार्य रूपमा कम्पाउन्ड वाल (घेराबार) लगाउन र अन्य सुरक्षात्मक उपायहरू अपनाउन भनिएको छ ।

मन्त्रालयले अस्पतालको जग्गासम्बन्धी लालपुर्जा र स्रेस्ताहरू अध्यावधिक गरी मालपोत तथा नापी कार्यालयबाट प्रमाणित अभिलेख सुरक्षित राख्न समेत सम्बन्धित अस्पताल प्रमुखहरूलाई सचेत गराएको छ ।

प्रतिक्रिया