स्वास्थ्य मन्त्री मेहता र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट


काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहता र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच मंगलबार मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटमा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धसँगै स्वास्थ्य क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

राजदूत श्रीवास्तवले मन्त्री मेहतालाई सफल कार्यकालको शुभकामना दिएका थिए भने मन्त्री मेहताले नेपालका स्वास्थ्य, खानेपानी तथा सरसफाइ क्षेत्रमा भारत सरकारले पुर्‍याउँदै आएको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गरेकी छन्।

छलफलका क्रममा नेपालका राष्ट्रिय स्तरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सुदृढीकरण तथा विशिष्टीकृत उपचार केन्द्रहरूको विस्तारबारे पनि सकारात्मक संवाद भएको मन्त्रालयले जनाएको छ।

दुवै पक्षबीच स्वास्थ्य पूर्वाधार विकासमा भारतीय सहयोगलाई आगामी दिनमा थप मजबुत र प्रभावकारी बनाउने विषयमा सहमति भएको छ। साथै, नेपाल–भारतबीच स्वास्थ्य क्षेत्रमा रहिआएको दीर्घकालीन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

प्रतिक्रिया