
गस्तीका प्रहरीमाथि कपन पल्तिर एक्कासी गोली चलेपछि…
शुक्रबारको साँझ । राजधानीको उत्तरी क्षेत्रमा रहेको चर्चित कपन गुम्बा पल्तिरको एक स्थान । पाँच जना आपराधिक व्यक्तिहरुले गस्तीमा रहेको सुरक्षा फौजलाई लक्षित गर्दै गोली चलाए । संयोगले सुरक्षाकर्मीलाई भने गोली लागेन । तर, उनीहरुले गोली प्रहार गर्ने पाँचै जनालाई घुँडामुनि गोली हानेर नियन्त्रणमा लिई सुरक्षित रहन सफल भए ।
०००
त्यसपछि एक्कासी लगत्तै नजिकैको एक घरमा आगो लागेको देखियो । जनताको सुरक्षाको लागि हरदम खटिने प्रहरीले जेनेरेटरको प्रयोग गरी आगो निभाउने प्रयास गर्यो । तर, लगातारको प्रयासमा पनि जेनेरेटर समयमा काम नगरेपछि एकछिन अवस्था भयावह बन्यो । आगलागी हुनासाथ घरभित्रबाट आएको बचाउ–बचाउको आवाज आउन छाड्यो, त्यसपछि मात्र जेनेरेटर चल्यो । प्रहरीले जसोतसो पानीका साथै ‘फायर फोम’को प्रयोग गरी आगो नियन्त्रणमा लिन सफल भयो । तर, संयोग भनौं कि भाग्य ती थुनिएका व्यक्ति घरको पछाडिबाट हाम्फालेर आलगागी लागेको घरकै करेसामा रहेछन्, सोही बखत एउटा एम्बुलेन्स आएर उपचारका लागि लग्यो ।
०००
एम्बुलेन्स घाइतेलाई लिएर जानासाथ अर्को घरमा केही अपहरणकारी प्रवेश गरे । समयमै सुरक्षाकर्मीले थाहा पाए एक अपहरणकारीलाई गोली हाने भने अन्य केहीलाई भने प्रहरीले नियन्त्रणमा लिन सफल भयो । त्यस घटनामा सर्वसाधारणतर्फ केही क्षति हुन पुगेन । मात्र एक अपहरणकारी मारिए ।
०००
यी तीन हरफ पढ्दा तपाईंलाई लाग्यो होला, राजधानीमै यत्रो ठूलो घटना हुँदा पनि मैले थाहा पाइनँ भन्ने । हो, पक्कै पनि पढ्ने अधिकांशलाई त्यस्तै लागेको होला । परिदृश्य वास्तविक भए पनि घटना भने वास्तविक होइन ।
नेपाल प्रहरीको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको कपनस्थित परिसरमा विपत् उद्धारसम्बन्धी नमुना अभ्यासको परिदृश्य हो यो । कार्यदलका प्रमुख एसपी चक्रराज जोशीको कमाण्डमा रहेका प्रहरीहरुले त्यस अवसरमा यी सब घटनाहरुको नमूना अभ्यास प्रदर्शन गरेका थिए ।
प्रहरी महानिरिक्षक दानबहादुर कार्की, डिआईजी अरुण पौडेल, केन्द्रीय प्रहरी प्रवक्ता डिआईजी अविनारायण काफ्ले, डिआईजी विश्व अधिकारीलगायतका उच्च प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा प्रहरीका कमाण्डोहरुले विपत्का अवस्थामा व्यवस्थापन गर्ने नमुना अभ्यास प्रदर्शन गरेका थिए ।
‘क्राइमबिट’का सञ्चारकर्मी र संगठनका उच्च अधिकृतहरुको उपस्थितिमा कार्यदलका कमाण्डोहरुले जलउद्धार, अग्निउद्धारका साथै विभिन्न घटनाक्रमका बारेमा नमूना अभ्यास गरेको थियो । पछिल्लो समय आगलागी र सवारी दुर्घटनाका घटनाहरु बढ्दै गइरहेको परिप्रेक्ष्यमा प्रहरीले पनि दुर्घटना, जल र अग्निउद्धारका लागि आफूलाई थप चुस्त बनाउँदै लैजाने प्रयास गरेको समेत उक्त अवसरमा जनाइएको थियो ।
नेपाल प्रहरीले आगलागीमा परेका व्यक्तिलाई १६०० डिग्रीसम्मको तापक्रमबाट पनि उद्धार गर्न सकिने किसिमको विशेष पहिरनको समेत उपलब्ध रहेको जनाउँदै उक्त पोशाकको पनि प्रदर्शन गरिएको थियो । त्यस्तै बाढी पहिरो र भूकम्पमा परेका व्यक्तिहरुको पहिचान र उद्धारका लागि आवश्यक उपकरण र सामाग्रीहरुका बारेमा पनि जानकारी दिइएको थियो ।
उक्त अवसरमा प्रवक्ता डिआईजी काफ्लेले प्रहरीहरुलाई सम्भावित विपत् क्षेत्र पहिचान गरेर आवश्यक आधारभूत सामाग्रीहरुको व्यवस्था गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई विभिन्न किसिमको तालिम दिइरहेको समेत जनाए । उनले कुनै पनि विपत् उद्धारका लागि प्रदेश, जिल्ला र इलाका प्रहरी कार्यालय र चौकीसम्ममा पनि न्यूनतम विपत् उद्धारका सामाग्रीहरु पुर्याउने पनि जनाए ।
त्यसका साथै डिआईजी काफ्लेले नेपाल प्रहरीको विभिन्न सामाजिक सञ्जालमार्फत् पनि जानकारीमूलक र सूचनामूलक जानकारी सम्प्रेषण गर्दै आइरहेको जनाए । अधिकांश विपत्का घटनामा स्थानीयहरुसँग पनि प्रहरीले सहयोगको अपेक्षा राखेको जनाउँदै सबै सचेत भएर बस्नका लागि अनुरोध गरे । डिआईजी काफ्लेले विपत्का सम्भावित क्षेत्रहरुमा २४ सै घण्टा प्रहरीलाई ‘स्ट्यान्डबाई’ राखेको पनि जनाए ।
सो अवसरमा आईए ड्रिल, प्रहरीले प्रयोग गर्ने विभिन्न हतियार खोलजोड, विपद् उद्धार सामाग्रीहरुको प्रदर्शन, होस्टेज रेस्क्यू ड्रिलको अभ्यास समेत गरिएको थियो ।



सुन्दर पाण्डे |
