
निजगढको होटलमा १९ वर्षीया युवती मृत फेला, हत्याको आशंकामा तीनजना पक्राउ
रौतहट – बाराको निजगढस्थित एक होटलमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
निजगढ नगरपालिका–९ मा रहेको गुरुङ होटलमा बास बसेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङ मृत अवस्थामा भेटिएकी हुन् ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार थिङ एक युवकसँग उक्त होटलमा बसेकी थिइन् । शुक्रबार राति करिब ११ बजे उनलाई निजगढ सामुदायिक अस्पताल पुर्याइएको भए पनि चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए। अहिले मृतकको शव सोही अस्पतालमा राखिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले युवतीको घाँटी थिचेर हत्या गरिएको हुन सक्ने देखाएको छ । घटनाको प्रकृति शंकास्पद देखिएकाले प्रहरीले गम्भीरताका साथ अनुसन्धान अघि बढाएको जनाएको छ ।
घटनापछि प्रहरीले होटलमा मृतक युवतीसँगै रहेका तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई पुरुष र एक महिला रहेका छन् ।



कागजपत्र |
