अस्पताल विकास समितिका ५०० भन्दा बढी पदाधिकारी हटाउने सरकारको तयारी


काठमाडौं –  सरकारले देशभरका विभिन्न अस्पताल विकास समितिमा नियुक्त अध्यक्ष, कार्यकारी निर्देशक तथा सदस्यहरूलाई पदमुक्त गर्ने तयारी अघि बढाएको छ ।

स्वास्थ्य क्षेत्रका अस्पताल विकास समिति गठन आदेश संशोधनमार्फत हाल कार्यरत पदाधिकारीहरूको नियुक्ति खारेज गर्ने तयारी गरिएको स्रोतले जनाएको छ । विकास समिति ऐन, २०१३ अन्तर्गत मन्त्रिपरिषद्ले जारी गरेका विभिन्न गठन आदेशअनुसार भएका नियुक्तिहरू खारेज गर्ने तयारी सरकारले गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक कर्मचारीका अनुसार भक्तपुर क्यान्सर अस्पताल विकास समिति, निजामती कर्मचारी अस्पताल विकास समिति तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समिति लगायत अन्तर्गत नियुक्त भएका अध्यक्ष, कार्यकारी निर्देशक र सदस्यहरू सबै पदमुक्त हुने तयारी छ ।

सरकारले अस्पताल विकास समितिहरूको संरचना, नियुक्ति प्रक्रिया तथा प्रशासनिक व्यवस्थामा पुनर्संरचना गर्ने उद्देश्यसहित कानुनी प्रक्रिया अघि बढाएको बताइएको छ । यसअनुसार देशभरका अस्पताल विकास समिति अन्तर्गतका ५०० भन्दा बढी पदाधिकारीको नियुक्ति खारेज हुने अनुमान गरिएको छ ।

यसअघि पनि सरकारले विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई अध्यादेशमार्फत पदमुक्त गरिसकेको थियो ।

प्रतिक्रिया