‘कारागार सुधारगृह होइन, कमाई खाने थलो बन्यो’


कास्की – कास्कीका रेशम राज पौडेलले जिल्ला प्रशासन कार्यालय कास्कीमा १० बुँदे ज्ञापनपत्र बुझाउँदै कास्की कारागारभित्र व्यापक भ्रष्टाचार, गैरकानुनी गतिविधि र कैदीबन्दीमाथि अमानवीय व्यवहार भइरहेको गम्भीर आरोप लगाएका छन्।

साइबर अपराध सम्बन्धी मुद्दामा १० महिना कारागार जीवन बिताएर हालै रिहा भएका पौडेलले आफूले जेलभित्र प्रत्यक्ष देखेका तथा भोगेका घटनाहरू सार्वजनिक गर्दै तत्काल सुधारको माग गरेका हुन्। ज्ञापनपत्र रुद्रादेवी शर्मालाई बुझाइएको हो।

पहुँच हुनेलाई सुविधा, गरिबलाई पीडा

पौडेलका अनुसार कारागारभित्र कैदीबन्दीमाथि दुव्र्यवहार, आर्थिक असुली, उपचार अभाव तथा पहुँचका आधारमा विभेद व्यापक रूपमा भइरहेको छ।

उनले भनेका छन्, ‘कारागार सुधारगृह हुनुपर्नेमा केही व्यक्तिका लागि आर्थिक लाभ उठाउने थलो बनेको छ।’

ज्ञापनपत्रमा पहुँच नहुने कैदीबन्दीले चरम दुःख पाउने, भेटघाटमा दोहोरो मापदण्ड अपनाइने, अतिरिक्त सुविधा पैसाका आधारमा वितरण हुने तथा सरकारी सेवासमेत कमिशनमार्फत उपलब्ध गराइने आरोप उल्लेख गरिएको छ।

जेलरमाथि पनि प्रश्न

पौडेलले कास्की कारागारका जेलरमाथि समेत गम्भीर प्रश्न उठाएका छन्। ‘१ वर्षको अवधि तोकिएको जिम्मेवारीमा एउटै जेलर किन ३ वर्षसम्म लगातार बसिरहेका छन र अझै बिभागलाई मिलाएर बस्न खोजिरहेका छन् ?’ भन्दै उनले छानबिनको माग गरेका छन् ।

ज्ञापनपत्रमा एक बन्दीमाथि कारागार भित्रै भएको भनिएको कुटपिट घटनाको निष्पक्ष अनुसन्धान गर्न पनि माग गरिएको छ।

एक हप्ताभित्र सुनुवाइ नभए अनशन

आफ्ना माग एक साताभित्र सम्बोधन नभए अनशन बस्ने चेतावनी समेत पौडेलले दिएका छन्। साथै उनले कारागारभित्र भइरहेको आर्थिक अनियमितताको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

देशभरका कारागारमाथि उठ्दै प्रश्न ?

गत हप्ता नेपाल विद्यार्थी संघको केन्द्रीय समितिले पनि कारागार विभागको ध्यानाकर्षण गराउँदै देशभरका कारागारमा चरम भ्रष्टाचार र बेथिति मौलाएको आरोप लगाएको थियो।

विशेषगरी केन्द्रीय कारागार जगन्नाथदेवलमा आर्थिक अनियमितता, प्रभावका आधारमा जिम्मेवारी बाँडफाँट तथा कैदीबन्दीमाथि विभेद भइरहेको भन्दै विभागमा ज्ञापनपत्र बुझाइएको थियो। विभागले यस विषयमा छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको बताइएको छ।

 करोडौँ रकम हिनामिनाको आरोप

केन्द्रीय कारागारका जेलर कृष्ण चापागाई र चौकीदार प्रभावकर नरसिंह राणामाथि करोडौँ रकम हिनामिना गरेको आरोपसमेत लागेको छ। कारागार ऐन २०७९ अनुसार कुनै पनि कारागारको चौकीदार एकपटकभन्दा बढी बन्न नपाइने व्यवस्था हुँदाहुँदै पनि प्रभाव र आर्थिक पहुँचका आधारमा लगातार तीनपटकसम्म चौकीदार बनाइएको आरोप कैदीबन्दीहरूले लगाएका छन् । केन्द्रीय कारागार भित्र रहेका सेन्टर, भद्र र महिला जेलमा चरम आर्थिक अनियमितता संगै नाईके सहनाईके बनाईदिने भन्दै प्रतिव्याक्ति १० लाख भन्दा बढी रकम जेलर र सेन्टरका चौकीदार प्रभाकर राणाबीच लेनदेन भएको भन्दै बिभागमा उजुरी समेत परेको थियो । त्यही पैसाको लेनदेनका कारण सेन्टर जेलमा रहेका चौकीदार प्रभाकर राणाको कार्यकाल सकिइसक्दा पनि प्रभावका आधारमा उक्त पदमा निरन्तरता दिइएको दाबी गरिएको छ।

नेपालका कारागारहरु सुधारगृह कि भ्रष्टाचारको अड्डा ?

देशभरका कारागार सुधारगृहभन्दा पनि शक्ति, पहुँच र पैसाको खेल हुने केन्द्र बन्दै गएको आरोपहरू लगातार सार्वजनिक भइरहेका बेला सरकारमाथि अब निष्पक्ष अनुसन्धान र कडा सुधारको दबाब बढेको छ । शुसासनको जगमा बनेको सरकार जताततै भ्रष्टाचारका बिषयमा चासो दिए पनि हजारौ कैदीबन्दीको सिदा खर्च, औषधी उपचार र लत्ता कपडाका लागि दिइएको रकममा समेत गिद्धे नजर लगाउने कारागारको अधिकारी र चौकीदारले गर्ने अनियमितताका सन्दर्भमा कानमा तेल हालेर बसेको देखिन्छ ।

प्रतिक्रिया