इरान–अमेरिका युद्ध अन्त्यको दिशामा, १४ बुँदे सम्झौताको तयारी


काठमाडौं – अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्न एक महत्वपूर्ण सम्झौता हुन लागेको समाचार संस्था रोयटर्सले जनाएको छ।
यसका लागि दुवै देश १४ बुँदे सम्झौतामा सहमतिको नजिक पुगेका छन्। आगामी ४८ घण्टाभित्र यसबारे पूर्ण स्पष्टता आउने समाचारमा उल्लेख छ।

रोयटर्सका अनुसार १४ बुँदे सम्झौताका मुख्य प्रावधानहरूमा इरानले आफ्नो आणविक सम्वद्र्धन कार्यमा अस्थायी रोक लगाउने प्रतिबद्धता जनाउने, अमेरिकाले इरानमाथिका केही प्रतिबन्धहरू खुकुलो पार्ने र इरानको रोक्का गरिएको अर्बौं डलर बराबरको सम्पत्ति जारी गर्ने र होर्मुज जलमार्गमा जहाजहरूको आवागमनमा लगाइएको प्रतिबन्ध हटाउने रहेको बताइएको छ।

सम्झौताअन्तर्गत ३० दिनको प्रारम्भिक वार्ता अवधि तय गरिनेछ। वार्तामा विस्तृत छलफल हुनेछ। यदि, वार्ता सफल नभए अमेरिकाले पुनः नाकाबन्दी वा सैन्य कारबाही सुरु गर्नसक्ने सर्त राखिएको छ।

वार्तामा अमेरिकी दूत स्टिभ विट्कोफ, जेरेड कुशनर र इरानी अधिकारीहरू संलग्न रहेको बताइएको छ। पाकिस्तानले यस युद्ध अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ। गत महिना पाकिस्तानमै शान्ति वार्ताको आयोजना गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलमार्गमा जहाजको सुरक्षाका लागि सुरु गरिएको प्रोजेक्ट फ्रिडम नामक नौसैनिक अभियानलाई अस्थायी रूपमा रोकेका छन्। यो कदमले वार्तामा महत्वपूर्ण प्रगति भएको संकेत गर्ने बताइएको छ।

बुधबार मात्रै होर्मुजमा एउटा फ्रान्सेली कन्टेनर जहाजमाथि आक्रमण भएको थियो, जसमा चालक दलका सदस्यहरू घाइते भएका थिए। फेब्रुअरीदेखि नै यो जलमार्ग तनावका कारण बन्द जस्तै छ।

सम्झौता हुनसक्ने खबर सार्वजनिक भएलगत्तै विश्व बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आठ प्रतिशतले घटेर प्रतिब्यारेल १०० डलर आसपास पुगेको छ। विश्वभरका सेयर बजार बढेको छ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरान न्यायसंगत र व्यापक सम्झौताको पक्षमा रहेको बताएका छन्।

 

प्रतिक्रिया