
इन्द्रचोककाे ज्वेलरी पसल लुट्न पेस्तोल ताक्ने तीन जना पक्राउ
काठमाडौं- इन्द्रचोकस्थित एक गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने प्रयासमा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–९ बोडेका ३० वर्षीय विकेश राजवाहक, काठमाडौं डल्लुका ३४ वर्षीय अरुण भुजेल र ललितपुर महालक्ष्मी नगरपालिका–६ का हरिकृष्ण महर्जन रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राजवाहक र भुजेललाई पक्राउ गरेको हो भने महर्जनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो। उनीहरूले वैशाख १७ गते इन्द्रचोकस्थित एक ज्वेलरी पसलमा पेस्तोल देखाउँदै लुटपाट गर्ने प्रयास गरेका थिए। तर, त्यतिबेला पसलमा रहेकी एक महिलाले साहसिक रूपमा प्रतिकार गरेपछि उनीहरू भाग्न बाध्य भएका थिए। उक्त घटना सम्बन्धी भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
प्रहरीका अनुसार यही समूहले यसअघि पुस २१ गते काठमाडौं महानगरपालिका–२५ मांसान गल्लीस्थित एक होलसेल पसलमा समेत पेस्तोल ताक्दै लुटपाट गरेको थियो। सो क्रममा उनीहरूले करिब २ तोलाको सुनको सिक्री, नगद ४ लाख रुपैयाँ, दुई थान मोबाइल र सीसी क्यामेरा लुटेर लगेका थिए।
पक्राउ परेका व्यक्तिहरूको साथबाट एक थान चाइनिज पेस्तोल, एक थान म्यागजिन, एक थान गोली, एक थान नक (हातहतियार) बरामद गरिएको छ। साथै घटनामा प्रयोग भएका कपडा र स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।



कागजपत्र |
