पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी


कास्की- पोखरा महानगरपालिकाले महानगरभित्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ। वैशाख ३ गते बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गर्दै अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो।

तर, बसपार्क क्षेत्रका सुकुमवासीहरूले भने उचित व्यवस्थापनबिना आफूहरूलाई हटाउन नहुने अडान लिएका छन्। बसपार्कभित्रको कृष्णटोल आमा समूहकी अध्यक्ष रुपा केसीले आफूहरू बाध्यतावश त्यहाँ बस्नुपरेको बताउँदै व्यवस्थापनपछि मात्र स्थान छाड्ने स्पष्ट पारिन्। “हामी बसपार्कको विरोधी होइनौं। उचित व्यवस्थापन गरियो भने विकासका काममा साथ दिन तयार छौं,” उनले भनिन्।

त्यस्तै, भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति कास्कीका संयोजक प्रेमबहादुर गुरुङले पनि वैकल्पिक व्यवस्था नगरी बसोबास हटाउन खोजिएको भन्दै चिन्ता व्यक्त गरे। उनका अनुसार सकेसम्म हाल बसोबास गरिरहेको वडा नं. ९ वा आसपासकै क्षेत्रमा व्यवस्थापन गरिनुपर्छ। “पहिला विकल्प दिनुपर्छ, त्यसपछि मात्र बसपार्क निर्माण अघि बढाउनुपर्छ,” उनले भने।

मजदुर नेता रुद्र गौतमले भने बसपार्कको लागि छुट्याइएको सम्पूर्ण २०५ रोपनी जमिन खाली गरिनुपर्नेमा जोड दिए। विगतमा पहुँच र शक्तिको दुरुपयोग गरी जग्गा किनबेच भएको दाबी गर्दै उनले वास्तविक सुकुमवासीलाई विकासको बाधक देखाउनु गलत हुने बताए। “पूरै जमिन खाली गरेर बसपार्क बनाइएमा हाम्रो पूर्ण सहयोग रहनेछ,” उनले स्पष्ट पारे।

प्रतिक्रिया