
रौतहटमा बोक्सी आरोपमा दलित महिलामाथि अमानवीय अत्याचार
रौतहट- रौतहटमा बोक्सीको आरोपमा एक दलित महिलामाथि अमानवीय व्यवहार गरिएको घटना सार्वजनिक भएको छ। कटहरिया नगरपालिका–९ की ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई केही स्थानीयले बोक्सी भन्दै कुटपिट गरी जबर्जस्ती मल–मूत्र खुवाएको आरोप लागेको हो।
स्थानीयका अनुसार छिमेकी पुकार माझीको घरमा बिहेको अवसरमा पर्साबाट आएको जन्तीमा सहभागी एक १० वर्षीय बालक बिरामी परेपछि अंकलिया देवीमाथि जादूटुना गरेको आरोप लगाइएको थियो।
शनिबार साँझ करिब ७ बजेतिर १५–२० जनाको समूहले एक्कासी उनको घरमा प्रवेश गरी कुटपिट गर्दै बियरको बोतलमा घोलिएको मल–मूत्र जबर्जस्ती खुवाएको पीडित पक्षको आरोप छ। पीडिताकी छोरी सुमिला देवी मुसहरिनका अनुसार बालक बिरामी भएपछि घरमै रहेका आमा–छोरीमाथि आक्रमण गरिएको हो।
घटनामा पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी, शंकर माझी, सुरेन्द्र ठाकुर र गौरी साहसहित एक दर्जनभन्दा बढी व्यक्तिको संलग्नता रहेको आरोप लगाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय कटहरियाको टोलीले अचेत अवस्थामा रहेकी अंकलियालाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
प्रहरीका अनुसार आरोपितहरूलाई पक्राउ गर्न जाँदा स्थानीयबाट अवरोध सिर्जना गरिएको र प्रहरीमाथि आक्रमणको प्रयाससमेत भएको थियो। अवस्था तनावपूर्ण बनेपछि थप सुरक्षा सतर्कता अपनाइएको जनाइएको छ।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यले घटनाबारे गहन अनुसन्धान भइरहेको र संलग्न दोषीहरूलाई कानुनअनुसार कडा कारबाही गरिने बताएका छन्।



कागजपत्र |
