
‘होल्डिङ सेन्टर’मा सीप सिक्दै सुकुम्बासी बस्तीबाट हटाइएका युवा
काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका थापाथली, सिनामंगल, मनोहरा, शंखमूल, बालाजु लगायतका क्षेत्रमा रहेका सुकुम्बासी बस्ती हटाएपछि त्यहाँ बस्दै आएका नागरिकलाई विभिन्न ‘होल्डिङ सेन्टर’मा राखिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रारम्भिक ‘स्क्रिनिङ’ गरेपछि उनीहरूलाई कीर्तिपुरको राधास्वामी व्यास सत्संग, भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र खरिपाटी क्षेत्रमा स्थानान्तरण गरिएको हो।
होल्डिङ सेन्टरमा राखिएका युवाहरू अहिले फुर्सदको समय सदुपयोग गर्दै सीप सिक्न थालेका छन्। सिनामंगल गैरीगाउँबाट स्थानान्तरण भई कीर्तिपुरको राधास्वामी व्यास सत्संगमा बस्दै आएका ४२ वर्षीय रबानी अन्सारीले त्यहीँ बस्ने अन्य युवाहरूलाई कपडामा बुट्टा हाल्ने सीप सिकाइरहेका छन्। सानैदेखि यही पेसामा संलग्न अन्सारीले इच्छुकहरूलाई सीप हस्तान्तरण गरिरहेका हुन्।
उक्त केन्द्रमा रहेका सुमीन मगर, विजय मगर र आशिष श्रेष्ठ जस्ता युवाहरूले पनि सीप सिक्न पाउँदा समय उपयोगी भएको बताएका छन्।
अन्सारीले यो पेसाबाट राम्रो आम्दानी हुने र बजारमा माग पनि उच्च रहेको बताए। उनले होल्डिङ सेन्टरभित्र मात्र नभई इच्छुकलाई बाहिर पनि निःशुल्क रूपमा सीप सिकाउने बताएका छन्।



कागजपत्र |
