
कोरियामा पक्राउ परेका ४२ विद्यार्थीमध्ये ३७ जना रिहा
काठमाडौं- दक्षिण कोरियाले श्रम अनुमति बिना काम गरेको आरोपमा पक्राउ परेका ४२ जना नेपाली विद्यार्थीमध्ये ३७ जनालाई रिहा गरेको छ भने पाँच जनामाथि अझै अनुसन्धान जारी रहेको छ।
उनीहरूलाई कोरियाको थेगु सहरबाट मंगलबार पक्राउ गरिएको थियो। कोरियास्थित नेपाली दूतावासका द्वितीय सचिव जेनिम अधिकारीका अनुसार विद्यार्थीहरू काम सकेर फर्किँदै गर्दा नियन्त्रणमा लिइएका हुन्।
अधिकारीका अनुसार कोरियामा विद्यार्थी भिसामा रहेका व्यक्तिहरूलाई तोकिएको नियमअनुसार सीमित घण्टा मात्रै काम गर्न अनुमति हुन्छ। तर ती विद्यार्थीहरू डेलिभरी सेवामा संलग्न रहेको पाइएको छ, जुन नियमविपरीत मानिन्छ।
दूतावासले जनाएको अनुसार रिहा गरिएका विद्यार्थीहरूलाई करिब दुई लाख रुपैयाँसम्म जरिवाना तिराइएको छ। कोरियामा एकैपटक ठूलो संख्यामा नेपाली विद्यार्थी पक्राउ परेको यो पहिलो घटना भएको दूतावासको भनाइ छ।
कोरियामा हाल विभिन्न तहमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या १९ हजार ५ सय ८१ रहेको छ। उनीहरूले अध्ययनसँगै सीमित क्षेत्रमा मात्र आंशिक काम गर्न पाउने व्यवस्था छ। जसमा मुख्यतः इलेक्ट्रोनिक्स पसल र रेस्टुरेन्टजस्ता क्षेत्रमा अनुमति दिइएको हुन्छ।



कागजपत्र |
