विवादपछि सशस्त्र प्रहरीका डीएसपी हमाल छानबिनका लागि तानिए


सिरहा- सिरहाको बरियारपट्टी सीमाक्षेत्रमा खटिएका सशस्त्र प्रहरीका डीएसपी विजय हमाललाई छानबिनका लागि महोत्तरीको बर्दिबासस्थित छिन्नमस्ता बाहिनीमा तानिएको छ।

स्थानीयसँगको विवाद, भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग र सीमा क्षेत्रमा भएको घटनासम्बन्धी व्यवहारबारे छानबिन गर्न उनलाई बाहिनीमा तानिएको सशस्त्र प्रहरी प्रवक्ता तथा डीआईजी विष्णुप्रसाद भट्टले जानकारी दिए।

हुलाकी राजमार्गअन्तर्गत बरियारपट्टी सीमा क्षेत्रमा भन्सार छली गरी ल्याइँदै गरेको डिजेल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीयसँग विवाद भएको थियो। सो क्रममा डीएसपी हमाल आक्रोशित शैलीमा प्रस्तुत भएको आरोप छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ, जसमा उनले स्थानीयलाई “तिमीहरू तस्कर हौ” भनेको सुनिन्छ। त्यसको जवाफमा स्थानीयले भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गर्ने प्रहरी नै तस्करीमा संलग्न हुन सक्ने भन्दै प्रश्न उठाएका छन्।

भिडियोमा डीएसपी हमाल हेलमेट लगाएर बीआर ०६ डीवाई ३०४१ नम्बरको मोटरसाइकलमा आएको देखिन्छ।

सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाका अनुसार घटनाबारे थप छानबिनका लागि डीएसपी हमाललाई बाहिनीमा तानिएको हो।

प्रतिक्रिया