
कर्णाली प्रतिष्ठानमा आन्दोलन फिर्ता, दुवै पक्षबीच सहमति
काठमाडौं- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा हिजो भएको घटनापछि उत्पन्न तनाव अन्ततः सहमतिमा टुंगिएपछि स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले जारी आन्दोलन फिर्ता गरेका छन्।
सामाजिक अभियन्ता बताउने केही युवाहरूले ड्युटीमा रहेका चिकित्सकमाथि अभद्र व्यवहार गरेपछि आक्रोशित स्वास्थ्यकर्मी, शिक्षक तथा कर्मचारीहरूले आज आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका थिए।
विहान १० बजेदेखि सुरु भएको वार्तापछि दिउँसो साढे १ बजे सहमति बनेको हो। वार्ताका क्रममा अभियन्ता पक्षले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग माफी माग्दै भविष्यमा कुनै पनि प्रकारको अभद्र व्यवहार वा असुरक्षित वातावरण सिर्जना नगर्ने प्रतिबद्धता जनाएका थिए। चिकित्सकहरूले पनि सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
प्रतिष्ठानका रजिष्ट्रार एवं प्रवक्ता लक्ष्मीचन्द्र महतले दुवै पक्षबीच सहमति भइसकेको र अवरुद्ध सेवा पुनः सुचारु भएको जानकारी दिए।
उनका अनुसार घटनामा संलग्न भनिएका चिकित्सकहरू अमित चौधरी र सरोजबाबु अर्याल तथा अभियन्ताका रूपमा प्रस्तुत भएका उपेन्द्र बुढ थापा, नरेन्द्र बुड थापालगायतबीच सौहार्दपूर्ण वातावरणमा समझदारी भएको हो।
‘उनीहरूले गल्ती भएको स्वीकार गर्दै माफी मागे। हामीले पनि सेवा सुधार र प्रभावकारी बनाउन आवश्यक छलफल गर्यौं। चिकित्सकहरूको सुरक्षाबारे पनि युवाहरूले आश्वस्त पारेपछि सहमति बनेको हो,’ महतले भने।
सहमति प्रक्रिया सहज बनाउन प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकाया, रजिष्ट्रार महत, डीन डा. प्रेणित पोखरेल र विवेक पुन मगरसहितको टोली सक्रिय रहेको थियो।



कागजपत्र |
