कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया सुरु


काठमाडौं- नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि औपचारिक प्रक्रिया सुरु गरेको छ। निर्वाचन समितिले बिहीबार मतदाताको अन्तिम नामावली सार्वजनिक गर्दै निर्वाचन प्रक्रिया अघि बढाएको हो।

कांग्रेस संसदीय दलको नेता चयनका लागि शुक्रबार मनोनयन दर्ता र मतदान प्रक्रिया हुने भएको छ। यसअघि बिहीबार सिंहदरबारमा निर्वाचन समितिले संशोधित संसदीय दलको विधानसमेत पेश गरेको छ।

२०७४ सालको विधानलाई संशोधन गर्दै नयाँ विधान पेश गरिएको कांग्रेस सांसद मदनकृष्ण श्रेष्ठले जानकारी दिए। उनका अनुसार विधानमा थप संशोधन आवश्यक भए शुक्रबार बिहान ८ बजेसम्म प्रस्ताव पेश गर्न सकिने समय दिइएको छ।

कांग्रेस सांसद अर्जुन नरसिंह केसीले दलको नेता चयनका लागि निर्वाचन प्रक्रिया अघि बढे पनि अन्तिमसम्म सहमतिको प्रयास जारी रहने बताए। सहमति हुन नसके प्रक्रियामार्फत नेता चयन गरिने उनले स्पष्ट पारे।

निर्वाचन तालिकाअनुसार शुक्रबार ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ। त्यसपछि दिउँसो साढे ३ बजे अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिनेछ। अपरान्ह ४ देखि ५ बजेसम्म मतदान हुने र त्यसपछि मतगणना गरी शुक्रबार नै परिणाम घोषणा गरिने निर्वाचन समितिले जनाएको छ।

संसदीय दलको नेतामा अर्जुन नरसिंह केसी, भीष्मराज आङ्देम्बे र मोहन आचार्यलगायतको दाबी रहेको छ।

प्रतिक्रिया