
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले जिल्ला अधिवेशनको कार्यतालिका तय गर्ने निर्णय गरेको हो । पार्टी प्रवक्ता मनिष झाले वैशाख १५ देखि देशभरका जिल्लामा अधिवेशन सुरु हुने जानकारी दिए ।
उनका अनुसार संगठन विस्तार तथा सुदृढीकरणलाई लक्षित गर्दै अधिवेशनको तयारी गरिएको हो । रास्वपाले पछिल्लो समय संगठनात्मक संरचना मजबुत बनाउने अभियानलाई तीव्रता दिँदै आएको छ ।
यसैबीच, रास्वपाको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । उक्त बैठकमा सचिवालय बैठकले तय गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसूची रहेको पार्टीले जनाएको छ ।



कागजपत्र |
