कांग्रेस संसदीय दलको नेता चयन मंगलबार


काठमाडौं – नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मंगलबार निर्वाचन हुने भएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयले मंगलबार दलको नेताको निर्वाचन कार्यक्रम तय भएको जानकारी दिएको हो ।

निर्वाचनमा सहभागी हुन उपत्यका बाहिर रहेका सांसदहरूलाई सोमबारभित्र काठमाडौं आइपुग्न र उपत्यकामा रहेका सांसदहरूलाई बाहिर नजान पार्टीले एसएमएसमार्फत आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने भएकाले उपत्यका बाहिर रहेका माननीयहरू ७ गतेभित्र काठमाडौं आइपुग्नुहुन र उपत्यकाभित्र रहेका माननीयहरू बाहिर नजानुहुन अनुरोध गरिन्छ ।’

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी कुल ३८ सिट जितेको छ । प्रमुख प्रतिपक्ष दलका रूपमा रहेको कांग्रेसले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको थिएन ।

यसअघि संसदमा प्रतिनिधित्व गरेका रास्वपा, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीले संसदीय दलको नेता चयन गरिसकेका छन् ।

कांग्रेसभित्र संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, निस्कल राईलगायतको नाम चर्चामा छ । तर, हालसम्म सहमति जुट्न नसकेको अवस्थामा पूर्व सहमहामन्त्री भीष्मराज आङदेम्बेलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने प्रयास भइरहेको बताइएको छ ।

प्रतिक्रिया