
पुरानो सदस्यता खारेज हुँदैन: महामन्त्री पौडेल
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियान सफल बनाउन बागमती प्रदेशका नेता तथा कार्यकर्तालाई सक्रिय हुन आग्रह गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, केन्द्रीय सदस्य तथा ‘जरा अभियान’का लागि खटिएका प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सदस्यता प्रणालीलाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक सुरु गरिएको जानकारी दिए ।
उनले एकपटक सदस्यताको विवरण डिजिटल प्रणालीमा प्रविष्ट भएपछि नवीकरण प्रक्रिया सहज हुने उल्लेख गर्दै आ–आफ्नो स्थानबाट सहयोग गर्न नेताहरूलाई आग्रह गरे । पुरानो क्रियाशील सदस्यता खारेज नहुने स्पष्ट पार्दै उनले अनावश्यक भ्रममा नपर्न आग्रह गरे ।
‘पुरानो सदस्यता हटाइएको होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने, ‘यसमा कसैले अन्योल मान्नुपर्दैन ।’
महामन्त्री पौडेलले बदलिँदो राजनीतिक परिवेशसँगै निर्वाचन प्रचार शैली पनि डिजिटल बन्दै गएको उल्लेख गर्दै पार्टी सर्कुलर, सदस्यको राय संकलन तथा गतिविधिबारे जानकारी दिन डिजिटल प्रविधिको प्रयोग गरिने बताए ।
उनका अनुसार सदस्यसँग प्रत्यक्ष सम्बन्ध सुदृढ गर्न, जिम्मेवारीबोध बढाउन र क्षमताअनुसारको रोष्टर तयार गर्न पनि डिजिटल अद्यावधिक आवश्यक छ ।
उनले सदस्यता प्रक्रियालाई वडास्तरमै केन्द्रित गरिएको जानकारी दिँदै हरेक सदस्यलाई आफ्नै टोल–समुदायसँग जोड्न वडामै जानुपर्ने व्यवस्था गरिएको बताए । यसले अपनत्व बढाउनुका साथै विवरणमा पारदर्शिता कायम गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।
विशेष कारणले वडा जान नसक्नेको हकमा भने थप छलफल गरी समाधान निकालिने उनले बताए । कांग्रेसले जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यता फारम पठाउनेछ भने वडा सभापतिमार्फत अद्यावधिक र नवीकरण प्रक्रिया पूरा गरिने व्यवस्था मिलाइएको छ ।
वडा सभापतिले प्रमाणीकरण गरेर प्रणालीमा प्रविष्ट गरेपछि मात्र सदस्यता वैध मानिनेछ । साथै, सदस्यता नवीकरण नगरेका व्यक्तिले नयाँ फारम भर्न सक्ने भए पनि अद्यावधिक नभए आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा सहभागी हुन नपाइने स्पष्ट पारिएको छ ।



कागजपत्र |
