घरबाटै ‘नो अब्जेक्सन लेटर’ लिन सकिने


काठमाडौं-  वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले अब घरमै बसेर ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा पूर्ण रूपमा फेसलेस बनाउन अनलाइन प्रणाली विस्तार गरेको हो । यसका लागि एनओसी अनलाइन पोर्टललाई त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू)सँग एपीआईमार्फत जोड्ने काम सम्पन्न गरिएको छ ।

उक्त प्रणाली कार्यान्वयनका लागि वैशाख ४ गते त्रिविसँग सम्झौता गरिएको छ भने केयूसँग यसअघि नै सहकार्य भइसकेको मन्त्रालयले जनाएको छ । यससँगै विद्यार्थीहरूले अब घरबाटै अनलाइनमार्फत आवेदन दिन, प्रक्रिया पूरा गर्न र प्रमाणपत्र आफैं प्रिन्ट गरेर प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

यसअघि विश्वविद्यालयहरूसँग प्रणालीगत अन्तरआवद्धता नहुँदा विशेषगरी स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहमा अध्ययन गर्न जाने आवेदकहरूले आफ्नो प्रमाणपत्र प्रमाणीकरणका लागि कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता थियो । तर अब त्रिवि र केयूको प्रणालीसँग प्रत्यक्ष जोडिएपछि आवेदकले दिएको रजिस्ट्रेसन नम्बर र जन्ममितिका आधारमा विवरण स्वतः प्रमाणित हुने भएकाले भौतिक उपस्थितिको आवश्यकता हटेको छ ।

त्यस्तै, नागरिकताको विवरण ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र शैक्षिक विवरण एनईबी प्रणालीमार्फत रुजु हुने व्यवस्था पहिल्यैदेखि कार्यान्वयनमा रहेको छ ।

महालेखा नियन्त्रकको ‘रेभिन्यू इन्फरमेसन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग जोडिएपछि एनओसी शुल्क पनि पूर्ण रूपमा अनलाइनबाटै भुक्तानी गर्न सकिने भएको छ । स्वीकृत एनओसी प्रमाणपत्र आवेदकले आफ्नै प्रोफाइलबाट डाउनलोड गर्न सक्नेछन् भने क्यूआर कोडमार्फत यसको प्रमाणीकरण पनि गर्न सकिनेछ ।

एनओसी शाखाका अनुसार अब स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहका विद्यार्थीहरूलाई समेत कार्यालय धाउन नपर्ने गरी सेवा सहज बनाइएको हो ।

प्रतिक्रिया