हुलाकमार्फत लाइसेन्स पठाउने सेवा सुरु


काठमाडौं- हुलाक सेवा विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) देशभरका यातायात कार्यालयसम्म पठाउने सेवा सुरु गरेको छ। विभागले चैत २६ गतेदेखि यो सेवा औपचारिक रूपमा लागू गरेको हो।

विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीका अनुसार यसअघि इम्बोस्ड नम्बर प्लेट वितरणका लागि गरिएको सम्झौताकै आधारमा अहिले लाइसेन्स पठाउने काम अघि बढाइएको हो। उनका अनुसार चैत २६ गते प्राप्त भएको लाइसेन्स भोलिपल्ट झापा पठाइएको थियो, जुन आइतबार कार्यालय खुलेपछि मात्र सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको थियो।

त्यसपछि विभागले सुनसरी, डडेलधुरा, डोटी लगायतका जिल्लामा समेत लाइसेन्स पठाइसकेको जनाएको छ। लाइसेन्स वितरणका लागि छुट्टै नयाँ सम्झौता नभए पनि हाल पुरानै व्यवस्था अनुसार सेवा सञ्चालन भइरहेको पंगेनीले बताइन्।

उनका अनुसार आगामी दिनमा सेवाग्राहीले लाइसेन्स आवेदन भर्दा नै आफ्नो ठेगाना उल्लेख गर्न सक्ने प्रणाली विकास गर्नेबारे छलफल भइरहेको छ। यस्तो प्रणाली लागू भएमा देशभरका ७५३ वटै पालिकामा रहेका हुलाक कार्यालयमार्फत घरघरमै लाइसेन्स पुर्‍याउन सकिने विश्वास विभागले लिएको छ।

हाल यातायात व्यवस्था विभागअन्तर्गत देशभर ४२ वटा कार्यालय सञ्चालनमा छन् र तिनै कार्यालयमा छापिएका लाइसेन्स पठाउने काम भइरहेको सूचना तथा प्रविधि शाखा प्रमुख केशव खतिवडाले जानकारी दिएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको सय बुँदे कार्यसूचीअनुसार हुलाकमार्फत लाइसेन्स, नागरिकता र पासपोर्ट घरसम्म पुर्‍याउने लक्ष्यसहित यो सेवा सुरु गरिएको हो।

लाइसेन्स छपाइका लागि सुरक्षण मुद्रण केन्द्रसँग गरिएको सम्झौताअनुसार हाल दैनिक करिब ४० हजार थान लाइसेन्स छपाइ भइरहेको छ, जुन वैशाख १२ भित्र सम्पन्न गर्ने लक्ष्य छ। यससँगै बाँकी रहेका करिब १७ लाख लाइसेन्स छपाइका लागि थप सम्झौता गरिएको छ, जसअनुसार असारसम्म सबै छपाइ कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

यसैबीच सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गर्दै प्रयोगात्मक परीक्षा पास गरेको २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

प्रतिक्रिया