पश्चिमबाट नयाँ प्रणाली भित्रियो, काठमाडौंसहित धेरै ठाउँमा वर्षा


काठमाडौं-  पश्चिम नेपालबाट वर्षा गराउने अर्को मौसमी प्रणाली भित्रिएपछि देशका विभिन्न भागमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बुधबार दिउँसो सूचना जारी गर्दै नयाँ प्रणाली सक्रिय भएको र त्यसको प्रभावस्वरूप वर्षा भइरहेको जानकारी दिएको हो। सूचनाअनुसार हाल गण्डकी, लुम्बिनी र बागमती प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

यसअघि नै महाशाखाले वर्षा गराउने प्रणाली पूर्वतर्फ फैलिँदै गएको जनाएको थियो। सोही प्रभावका कारण यतिबेला काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पनि वर्षा भइरहेको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको संयुक्त प्रभाव कायम छ। यसका कारण आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोसी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै मधेस प्रदेशसहित कोसी र बागमतीका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौं उपत्यकामा आज मध्यम खालको वर्षा हुने सम्भावना रहेको छ।

आज राति पनि कोसी, मधेस र बागमती प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा बाँकी तराई क्षेत्रमा आंशिक रूपमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया