
डिशहोम कर्मचारी बनेर ठगी गर्ने गिरोह पक्राउ, सयौं ग्राहक पीडित
काठमाडौं- डिशहोमको कर्मचारी भएको बहाना बनाएर ग्राहकहरूलाई झुक्यानमा पार्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको निःशुल्क अफर’ भन्दै फोनमार्फत प्रलोभन देखाएर रकम असुल्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा धादिङ नेत्रावती डबजोङ गाउँपालिका–५ की २२ वर्षीया आरती सिम्खडा, दोलखा भीमेश्वर–८ का २२ वर्षीय विष्णु कार्की र रामेछाप दोरम्बा शैलुङ–२ का ४७ वर्षीय असल सिंह तामाङ रहेका छन्। उनीहरूलाई आइतबार काठमाडौँको टोखा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूको साथबाट ठगीमा प्रयोग भएका डिशहोम इन्टरनेट लेखिएका ५ थान रसिद प्याड, ‘प्रविधि इम्पेक्स’ को १ थान छाप, डिशहोम फाइबरनेटको नाममा आरती सिम्खडाको १ थान परिचयपत्र तथा विभिन्न व्यक्तिहरूको नाम, फोन नम्बर र हिसाबकिताब लेखिएका २ थान कापी बरामद गरेको छ।
प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार मुख्य आरोपी आरती सिम्खडाले करिब चार वर्ष ‘डिश मिडिया नेटवर्क’ अन्तर्गतको सब–डिलर ‘एलेक्स इम्पेक्स’ र ‘डिशहोम इन्टरनेट अनलाइन सर्भिस’ मा काम गरेकी थिइन्। सोही क्रममा उनले ग्राहकहरूको सम्पर्क विवरण प्रयोग गर्दै ठगीको जालो बुनेकी थिइन्।
अनुसन्धानका क्रममा उनले ग्राहकहरूलाई आकर्षक अफर देखाएर आफ्नो र श्रीमानको इसेवा, खल्ती तथा विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको खुलेको छ। ठगीका लागि प्रयोग गरिएका नक्कली रसिद र ‘प्रविधि इम्पेक्स प्रालि’ को छाप गोङ्गबुस्थित ‘योन्जन आर्ट’ बाट तयार गरिएको पनि प्रहरीले जनाएको छ। रकम लिइसकेपछि ग्राहकलाई नक्कली रसिद दिने गरिएको थियो।
प्रारम्भिक अनुसन्धानमा सिम्खडाले आफ्नै नम्बरबाट डिशहोमका ८६ वटा अकाउन्ट सञ्चालन गरेको देखिएको छ। हालसम्म ३६४ जना ग्राहक यस ठगीबाट पीडित भएको अनुमान गरिएको छ भने कुल ठगी रकम २९ लाख रुपैयाँभन्दा बढी पुगेको प्रहरीको आँकलन छ। यसमध्ये ७ जना पीडितले औपचारिक उजुरी दिइसकेको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
